ब्रेकिंग न्युज

प्रदेश सांसद सितालाइ अबसरको चाङ




दाङ १९ साउन । १३ वर्ष छँदै माओवादीको सशस्त्र युद्धमा भूमिगत बनेकी सीता चौधरीले आज लुम्बिनी प्रदेशको ऊर्जा तथा सिंचाइ मन्त्रीको कार्यभार सम्हालिन् । उनलाई यो सौभाग्य ज्यानको बाजी राखेर युद्धमा होम्ने माओवादीले नभई पछि राजनीति सुरु गरेको पार्टी एमालेले दिलायो ।

तर ३६ वर्षीया चौधरी विनाविभागीय मन्त्री नियुक्ति भएलगत्तै एमाले वृत्तमा असन्तुष्टि देखिएको छ । वर्षौंदेखि एमालेको राजनीतिमा पसिना बगाएका सांसद हुँदाहुँदै उनलाई मन्त्री बनाइएपछि खासगरी एमालेका दुई महिला सांसद बाँकेकी वसन्ती अधिकारी र दाङकी रेखा विक उर्फ शर्मा असन्तुष्ट छन् ।

उनीहरुले सीतालाई एमालेले मन्त्री बनाउने निर्णय गरेसँगै सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । रेखाले त मन्त्रीको शपथ ग्रहणमा जाँदा आफू पुरानो एमाले हुँदाहुँदै माओवादीबाट आएकी सीतालाई मन्त्री बनाएर पार्टीले आफूलाई अपमान गरेको भन्दै सँगै रहेका एमालेका कार्यकर्तासँग गुनासो गरेकी थिइन् ।
उनले भनेकी थिइन्, ‘खासमा आज मैले मन्त्रीको शपथ खानुपर्ने हो । पुरानो म भए पनि माओवादीबाट आएकीलाई मन्त्री बनाएर पार्टीले मेरो योगदानको कदर गरेन । राजनीति भनेको पनि यस्तै रहेछ ।’त्यो दिन उता बाँकेमा पनि सांसद वसन्तीको अनुहारमा कालो बादल लागेको थियो ।

विनाविभागीय मन्त्री भएका चौधरी लामो समय पूर्वसभामुख कृष्णबहादुर महराको प्रमुख स्वकीय सचिव भएर काम गरेका प्रमोद शर्माकी श्रीमती हुन् । सीता श्रीमान् प्रमोदसँगै २०७८ चैत १० गते एमालेमा प्रवेश गरेकी थिइन् । महरा जति पटक मन्त्री र सभामुख बने शर्मा त्यति नै पटक स्वकीय सचिव बनेका थिए ।

तत्कालीन अवस्थामा माओवादीको घोराही नगर कमिटी अध्यक्ष रहेका शर्माले पार्टीले आफूलाई प्रदेश कमिटी सदस्य नबनाइएपछि एमालेमा प्रवेश गरेका थिए ।माओवादीबाट २०७८ सालमा एमाले आएकी सीतालाई मन्त्री बनाएकोमा लुम्बिनी प्रदेशका एमाले सचिव लक्ष्मण आचार्य पनि सन्तुष्ट छैनन् ।

पुराना एमालेलाई ब्याक गरेर केही वर्ष पहिलेमात्रै माओवादीबाट आएकालाई मन्त्री बनाउनुको कारण के हो भन्ने जिज्ञासामा सचिव आचार्यले भने, ‘यस विषयमा प्रदेश कमिटीमा कुनै छलफल नै भएन । हामीलाई बाइपास गरेर लिइएको निर्णय हो । हामीले त बधाईमात्रै दिएका हौं ।’

तर,एमालेको केन्द्रीय नेतृत्व भने सीतालाई मन्त्री बनाएर ‘एमालेमा भविष्य छ’ भन्ने सन्देश दिन खोजेको दाबी गर्छ । एमालेको दाङ इन्चार्जसमेत रहेका पोलिटव्युरो सदस्य नरुलाल चौधरी अन्य पार्टीबाट आएकालाई एमालेले विभेद गर्दैन भन्ने सन्देश दिन सीतालाई मन्त्री बनाइएको बताउँछन् ।

उनी भन्छन्, ‘सीतालाई मन्त्री बनाउँदा एमालेले अन्य पार्टीबाट आएकाले विभेद गर्दैन । समान अवसर दिन्छ भन्ने सन्देश आमजनतामा गएको छ ।’मन्त्री बनेकी सीता एमालेको प्रदेश कमिटी सदस्य पनि हुन् । उनका श्रीमान् प्रमोद एमालेको दाङ जिल्ला कमिटी सदस्य छन् ।

प्रकाशित : १९ श्रावण २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६