कपिलवस्तु, ०८ भदौ । एमाले बाणगङ्गा नगरको आगामी ३ वर्षे कार्यकालको लागि हुने चुनावमा अध्यक्षका प्रतिस्पर्धी मदन शाहीले आफूले सजिलै जित्ने दावी गरेका छन् । लामो समय आफू र सिङ्गो परिवार पार्टीको काम र सङ्गठन विस्तारमा होमिएकाले यसपटक नेताकार्यकर्ताले आफ्नो विवेक नगुमाउने बताउँदै शाहीले आफ्नो जित निश्चित भएको बताएका हुन् ।
बिहान १० बजेदेखि हुने चुनावमा डटेर प्रचार प्रसारमा लागेका शाहीले भने, ‘मैले चुनाव जित्नेमा कुनै शङ्का छैन । यसपटक एमालेका नेता कार्यकर्ताले राम्ररी बुझिसकेका छन् सबैलाई । कसलाई भोट हाल्ने सबै थाहा पाइसकेका छन् । कसैको पछि लाग्छन् भन्नेमा विश्वास छैन ।’
शाहीले बाणगङ्गामा प्रतिपक्षीसँग डगेर लड्ने नेतृत्व आवश्यक रहेको बताउँदै अधिकांश युवाको समर्थन आफूले पाएको बताए ।
उनी थप्छन् ‘वडावडामा पनि मलाई कुनै डर छैन, हरेक वडाबाट मेरो समर्थनमा युवाहरूको समर्थन छ । ३ र ४ नम्बर वडा मेरै हो । अन्य वडामा साथीहरूले वातावरण बनाउनु भएको छ । जित निश्चित छ ।’
सोमनाथ अर्याल आफ्नो सहकर्मी भएकाले उहाँबारे कुनै हलुका टिप्पणी नगर्ने पनि शाहीले बताए । ‘उहाँ चुनावी मैदानमा आउनु राम्रो हो । स्वस्थ प्रतिस्पर्धा हुन्छ । चुनावमा नआएर मलाई सघाएको भए राम्रो हुने थियो, शाहीले भने, तर पनि ठिकै छ ।’
शाही एमालेमा पढेलेखेका ब्यक्तिका रुपमा चिनिन्छन् । अङ्ग्रेजी विषयका शिक्षकसमेत रहेका शाहीमा कुन परिस्थितिमा कसरी चल्ने भन्ने ज्ञान भएको एक जना युवाले बताए ।
‘नम्र हुनु राम्रो हो । तर जहिले पनि नम्र भएर हुँदैन । बाणगङ्गामा हाम्रो प्रतिस्पर्धी काँग्रेस हो, काङ्ग्रेससँग भिड्न शाही जस्ता प्रवृत्तिका मान्छेलाई नेतृत्वमा लैजानु पर्दछ । अबका दिनमा बाणगङ्गा एमालेमय बनाउने हाम्रो मिसन छ, उनले भने । शाहीको पक्षमा मतदान गर्न पनि ती युवा प्रतिनिधिको सबैलाई आग्रह छ ।
नगर अधिवेशनमा २११ प्रतिनिधि सहभागि छन् । शाहीलाई वर्तमान जिल्लाको नेतृत्वको साथ रहेको बताइन्छ ।
दुवै नेता बलियो प्रतिस्पर्धी रहेको हुनाले कसले चुनाव जित्छ यसै भन्न नसकिने नेताहरु बताउँछन् ।
प्रतिक्रिया