अर्थ-वाणिज्य

नेकपा एसमा सुनामीको संकेत : कोही निष्क्रिय, कोही अन्तिम विद्रोहको तयारीमा



कपिलवस्तु १२ फागुन ।माधवकुमार नेपालले एमाले महासचिव भएर १५ वर्ष पार्टी चलाए। त्यसबेला उनले एउटा ‘कोर टिम’ बनाएका थिए। टिममा रहेकाहरूले हरेक परिस्थितिमा उनलाई बलियो साथ दिए।
तीन वर्षअघि एमालेबाटै विद्रोह गरेर एकीकृत समाजवादी पार्टी बनाउँदा ‘कोर टिम’का केहीले उनको साथ छाडे। तर, बेदुराम भुसाल, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर, राजेन्द्र राई, शेरबहादुर कुँवर, मेटमणि चौधरी, अम्मरबहादुर थापा, उर्वादत्त पन्त, राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र डा विजय पौडेल लगायत सय बढी नेताले उनलाई साथ दिए।त्यसबाहेक झलनाथ खनाल पनि उनीसँगै छन्। अनि केपी शर्मा ओली, वामदेव गौतमले प्रशिक्षित गरेका नेता समेत एमाले छोडेर समाजवादी भित्रिए।
तर, यतिबेला त्यही ‘कोर टिम’ अध्यक्ष नेपालसँग टाढिन थालेको छ। केही एकीकृत समाजवादी छाडेर एमालेमा फर्किसकेका छन्। बाँकी रहेकाहरूमा पनि थुप्रै नेता या त निष्क्रिय या विद्रोह गर्ने मनस्थितिमा पुगिसकेको सो पार्टीका नेताहरू बताउँछन्।
गएको असारमा सम्पन्न दसौँ महाधिवेशनपछि निकटस्थहरूले नेपालको साथ छाड्न थालेका हुन्। नेपालको व्यवहारले पुराना नेता पनि आजित हुन थालेको असन्तुष्टको भनाइ छ। ‘हाम्रो अध्यक्ष ठोस निर्णय लिने बेलामा जहिले पनि ढिलो गर्नुहुन्छ। घरी यताउता गर्ने, बुझेको जस्तो पनि गर्ने तर निर्णय नलिने,’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, ‘कतिपय गर्छु भनेको नगरेपछि साथीहरूको चित्त बुझ्दैन। पार्टी अध्यक्षले नै नगरेपछि यिनले पार्टी बनाउने रहेनछन् भन्ने लाग्ने नै भयो।’

विद्यार्थी र युवा संगठनको अध्यक्ष बर्खास्त गरेर नेपालले आफ्नाहरूलाई चिढ्याएको उनको आरोप छ।नेतृत्वले उच्च समझदारी नराख्दा जनवर्गीय संगठनमा आफ्नो वरिपरिको र अरुको भन्ने अलि–अलि भइराखेको छ,’ उनले थपे, ‘केन्द्रीय समितिमा, पदाधिकारीमा र जनवर्गीय संगठनमा विवाद देखिन थालेको छ।०५५ सालदेखि नेपाललाई साथ दिइरहेका एक नेता उनले बुढापाका नेता रोज्दा पछिल्लो पुस्ताका नेताहरू टाढिएको बताउँछन्। जनताको कुरा नबुझेको, कार्यक्रम पनि ल्याउन नसकेको, लामो समयदेखि संगठन पनि नचलाएका र समाजको पछिल्लो अवस्था नबुझेका अव्याहारिक नेतालाई बढी विश्वास गर्दा नेपालसँग अरू ऊर्जावान् नेता बिच्किएको उनले बताए।

‘उहाँले आफ्नो उमेर समूह खोज्नुहुँदो रहेछ, तिनैलाई विश्वास गर्ने, बढी छलफल गर्ने र महत्त्वपूर्ण जिम्मेवारी उनैले पाउँदा त्यसप्रति असहमत हुने साथीहरू हुनुहुन्छ,’ ती नेताले भने, ‘हामीले जति भने पनि अध्यक्ष कमरेडले फलानाफलानालाई काम लगाउने हो भन्नुहुन्छ। साथीहरू निराश हुनुहुन्छ। अध्यक्षले अन्तिममा हाम्रो कुरा सुन्नुहुन्न भन्ने परेको छ।उपाध्यक्ष जगन्नाथ खतिवडा भने अध्यक्ष नेपालको पुरानो टिमसँग दूरी नबढेको बताउँछन्म हाधिवेशनपछि केही नेताहरूसँग दूरी बढेको हो तर, उहाँहरूले अध्यक्षको टिम छोडेको होइन,’ उनले भने।

कोको रुष्ट ?
महाधिवेशन अघिदेखि नै सांसदहरू प्रेम आले, कृष्णकुमार श्रेष्ठ असन्तुष्ट थिए। उपमहासचिव राजेन्द्र राई, सचिव शेरबहादुर कुँवर र उपाध्यक्षमा पराजित उर्वादत्त पन्त पहिलादेखि उनका ‘खास मान्छे’ हुन्। तर, पन्तले महाधिवेशनमा धाँधली गरेर हराइएको भन्दै छानबिन हुनुपर्ने माग राखेका छन्। जित्नेहरूलाई उनले स्वीकारेका छैनन्, चिर्कटो नेता भन्ने गरेका छन्। पदाधिकारी चुनावमा चिट बाँडेर आफूलाई हराइएको भन्ने पन्तजीलाई परेको छ, आचार संहिताविपरीत गतिविधि गरेर हराइएको भन्दै छानबिन गर्न माग गर्दै त्यसो नहुने हो भने चुनाव नै अवैधानिक भन्नुभएको छ। उहाँ त विद्रोहको तहमा पुग्नुभएको छ,’ अर्का पदाधिकारी भन्छन्।

उपमहासचिवमा पराजित अम्मरबहादुर थापा, जीवनराम श्रेष्ठ, सचिवमा हारेका डा। वंशीधर मिश्र नेपालप्रति असन्तुष्ट छन्। ‘अध्यक्ष कमरेडले कतिपयका कुरै सुन्नुहुन्न, सुनेका पनि मनन गर्नु हुन्न, साथीहरूले दिएको सुझाव अनुसार करेक्सन हुनुपनि हुन्न भनेपछि दूरी बढ्ने नै भयो,’ ती नेताले भने।

कार्यविभाजनपछि झन् धेरै रुष्ट
पुस २६ देखि माघ २ गतेसम्म बसेको स्थायी कमिटी बैठकले गरेको निर्णय भन्दै गएको माघ १४ गते अध्यक्ष नेपालले नेताहरूको कार्यविभाजन गरेको अपानिमार्फत् जानकारी गराए। यसले महाधिवेशन र पदाधिकारी चुनावका कारण असन्तुष्ट नेतालाई थप बिच्काउने काम कार्यविभाजनले गर्‍यो। वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपाध्यक्ष जगन्नाथ खतिवडा समेत खुसी छैनन्। पाण्डे वरिष्ठ उपाध्यक्षलाई कार्यकारी अधिकार नदिइएकोमा असन्तुष्ट छन्। ‘केन्द्रीय सदस्य पूर्णता दिँदा पनि चित्त बुझेको थिएन, तर कार्यविभाजनमा एकपटक प्रयास गरौँ न त भनेर गरियो। तर, बेदुराम भूसाल, घनेन्द्र बस्नेत, प्रमेश हमाललाई वरिष्ठ नेता बनाउँदै भरे त महत्त्वपूर्ण जिम्मेवारी दिने काम गरियो,’ एक नेता भन्छन्।

मञ्चमै क्रुद्ध
अध्यक्ष नेपाल रिसाएको कमै सुनिन्छ। तर, गत फागुन १० गते पार्टीको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य आरती लामासँग माधव नेपाल निकै रिसाए।उनी मञ्चबाट ओर्लिएर लामालाई कुट्नै तम्सिएको बैठकमा सहभागी एक नेताले बताए। यद्यपि, केही पदाधिकारीले उनलाई रोके र अप्रिय घटना हुन पाएन। लामो समयदेखि माधव नेपालसँग एउटै संगठनमा रहेर काम गरेका एक नेताले बताएअनुसार ‘जंगिने’ त नेपालको पुरानो बानी नै हो। आफ्नो निर्णयलाई जसरी पनि लागू गराउन खोज्ने उनको स्वभाव अझैसम्म कायमै छ। त्यसको विरुद्धमा कोही उत्रिए उनी सम्हालिन सक्तैनन्।
सोचेजस्तो पार्टी बनाउन नसकेको पीडाबोध उनले आफूभन्दा तल्लो तहका नेता र कार्यकर्तासँग पोख्न थालेको नेताहरू बताउँछन्। नेता अम्मरबहादुर थापा भने धेरै कमिटी भएको ठाउँमा कहिलेकाहीँ विवाद आउने गरेको बताउँछन्। असन्तुष्टि सबै ठाउँमा हुन्छन्। नेपालमा कसैलाई सन्तुष्ट पार्न सकिँदैन,’ उनले भने, ‘नेपाली चरित्र नै असन्तोषी र अराजक छ। कसैको कुरा मिल्दैन।’

प्रकाशित : १२ फाल्गुन २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६