नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यससँगै उनी बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका छन्।
मकवानपुरको हर्नमाडीमा २०२७ सालमा जन्मेका बानियाँको राजनीतिक जीवन झण्डै चार दशक लामो छ। उनले २०४४ सालमा विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका थिए। काँग्रेस बागमती प्रदेश सभापतिका रूपमा रहेका बानियाँ २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।
यसअघि, उनी २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। २०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भए पनि उनी २०७९ मा संसदीय दलको नेतामा बहादुरसिंह लामा तामाङसँग पराजित भएका थिए।
गत साउन ९ गते संसदीय दलका नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। त्यसपछि साउन १४ गते भएको निर्वाचनमा २२ मत ल्याएर बानियाँ संसदीय दलको नेतामा निर्वाचित भएका थिए। पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएपछि बानियाँलाई मुख्यमन्त्री नियुक्त गरिएको हो।
राजनीतिक व्यक्तित्वका साथै बानियाँ सफल निर्माण व्यवसायीका रूपमा पनि परिचित छन्।








प्रतिक्रिया