अर्थ-वाणिज्य

भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति



चितवन, २९ भदौः

जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा रु दुई अर्बभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । यही भदौ २४ गते महानगर कार्यालय र वडा कार्यालयमा आक्रमण गरिएको थियो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै प्रारम्भिक रुपमा रु दुई अर्बभन्दा बढीको क्षति आकलन गरिएको छ । प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकाको कार्यालय आगलागीबाट पूर्णरुपमा क्षतिग्रस्त भएको छ । महानगरको स्वास्थ्य र कृषि कार्यालयमा सामान्य क्षति पुगेको छ ।

महानगरपालिकाका २९ मध्ये २० वटा वडामा क्षति पुगेको छ । वडा नं २, ९, ११, १२, २०, २५, २७, २८ र २९ बाहेकका कतिपय वडामा पूर्ण रुपमा क्षति पुगेको छ भने कतिपयमा आंशिक क्षति भएको छ ।

पौडेलका अनुसार २६ वटा गाडी, पाँच वटा मोटरसाइकल र एउटा स्कुटर जलेर नष्ट भएका छन् । जलेका गाडीमध्ये दुई वटा दमकल, एउटा ग्रेडर, दुई वटा कम्प्याक्टर, एउटा ब्रुमर, पानी बोक्ने गाडी एक र सेफ्टी ट्यांकी सफाई गाडी एउटा रहेका छन् । 

महानगरपालिकाका गाडीमध्ये प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी बाहिर राखिएकाले सुरक्षित रहेका छन् । त्यस्तै दुईवटा जेसिबी, एउटा कम्प्याक्टर, एउटा दमकल र एउटा ट्याक्टर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो ।

महानगरपालिकाका बरिष्ठ शाखा अधिकृत झलककुमार श्रेष्ठका अनुसार स्टोरमा रहेका के कति सामान जलेका छन् भन्ने बारेमा तथ्याङ्क लिने काम भइरहेको छ । कार्यालयमा प्रयोग हुने फर्निचर, कम्युटर, टेलिभिजन, इन्भर्टर, ब्याट्री, कागजपत्रलगायतका सामग्री जलेर नष्ट भएका छन् । उहाँका अनुसार महानगरवासीलाई वितरणका लागि ल्याइएको दुई हजार थान विद्युतीय चुल्हो जलेर र चोरी भएका छन् ।

यसका अतिरिक्त अन्य सामग्रीहरु समेत चोरी भएका छन् । महानगरपालिका जलाउने र तोडफोड गर्ने समूहले महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीको घर समेत जलाएर पूर्णरुपमा क्षति पु¥याएका छन् । यस्तै महानगरपालिकाका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीको घर जलाउने र लुटपाट भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले सेवाग्राहीहरुका सिफारिस र अत्यावश्यक काम आजैबाट गर्न लागिएको बताउनुभयो । जे सकिन्छ ती सेवाहरु दिन थालेको उहाँले बताउनुभयो । क्षतिको मूल्याङ्कन गरेर मर्मत थालिने उहाँले बताउनुभयो ।

प्रकाशित : २९ भाद्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६