कपिलवस्तु, असोज ६ गते।
नेकपा (एमाले) केन्द्रीय लेखा आयोगका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले जेनजी पुस्ताले उठाएका मागहरूलाई आत्मसात् गरेर अघि बढ्नु आजको आवश्यकता भएको बताएका छन्।
शनिबार कपिलवस्तुमा आयोजित एक कार्यक्रममा बोल्दै पन्थीले जेनजीका मागहरू सामान्य वा सीमित पुस्ताको मात्रै नभई सम्पूर्ण नेपाली जनताका साझा चासोका विषय भएको उल्लेख गरे। “जेनजीका वास्तविक माग नै हाम्रो पार्टीका मूल एजेण्डा हुन्, त्यसैले यसमा कुनै अलमल गर्न मिल्दैन,” उनले स्पष्ट पारे।
उनका अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्धन, प्रशासनिक पुनर्संरचना जस्ता मुद्दाहरू जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले ती मागलाई पार्टीले प्राथमिकताका साथ सम्बोधन गर्नेछ। उनले पार्टीभित्र देखिएका तलदेखि माथिसम्मका कमजोरी सच्याउँदै मात्र विश्वासिलो नेतृत्व दिन सकिने धारणा राखे।
पन्थीले पार्टीका एजेण्डा र जेनजी पुस्ताका मागबीचको सम्बन्धबारे प्रस्ट पार्दै भने, “जनमुखी एजेण्डाबाट एमाले कहिल्यै बाहिर जान सक्दैन। जेनजीले देखाएका समस्या समाधान बाहिरबाट होइन, आफैंभित्रैबाट खोज्नुपर्छ।”
प्रदेश सभा सदस्य पन्थीले आत्मसमीक्षा र सुधारको बाटोमार्फत मात्र राजनीतिक दलहरूले जनतामा विश्वास कायम राख्न सक्ने औंल्याए। उनले अहिलेको समयमा जनताको आवाजलाई संवेदनशीलताका साथ सुन्नु र व्यावहारिक रुपमा कार्यान्वयन गर्नु नै देशलाई सही बाटोमा डो¥याउने उपाय भएको जोड दिए।








प्रतिक्रिया