कर्णाली

बैतडीमा सामूहिक जमरा राख्ने प्रचलन



बैतडी, ७ असोजः

दसैँको पहिलो दिन सोमबार यहाँका शक्तिपीठ तथा मन्दिरमा जमरा राखेर घटस्थापना गरिएको छ । शक्तिपीठ तथा मन्दिरमा सामूहिक जमरा राख्ने प्रचलन रहिआएको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो । घरघरबाट जौ ल्याएर मन्दिरमा सामूहिक रूपमा जमरा राख्ने चलन रहिआएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका सबैजसो मन्दिर तथा शक्तिपीठमा सामूहिक रूपमा जमरा राख्ने चलन रहिआएको छ । जिल्लाका प्रसिद्ध शक्तिपीठमा सोमबार सामूहिक रूपमा जमरा राखिएको निङ्गलाशैनी भगवती मन्दिरका पुजारी लोकराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँघरका सबै दर्शनार्थीले घरघरबाट जौ र अन्य पूजा सामग्री ल्याएपछि जमरा राखिन्छ ।

यहाँको प्रसिद्ध त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी, फाल्ङाशैनी, कालशैनीलगायत शक्तिपीठमा सामूहिक जमरा राखिएको छ । 

त्यस्तै, सिँगास, केदार, शिवनाथ, जगन्नाथ, नागार्जुन, वासुलिङ्ग, दोगडाकेदार, महारुद्र, उदयदेव, अनिरुद्र, भूमिराजलगायत मन्दिरमा सामूहिक रूपमा जमरा राखिएको छ । मन्दिरमा जमरा राखेपछि नवरात्र सुरु भएको छ । मन्दिरमै बसेर नवरात्र उपासना गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताउनुभयो ।

शक्तिपीठ तथा मन्दिरमा जमरा राख्नु अघि भण्डार घरबाट शक्तिपीठ तथा मन्दिरमा देउरो लग्ने चलन रहिआएको छ । प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भण्डार घरबाट भगवतीको सवारी गराएपछि सामूहिक जमरा राखिएको मन्दिरका मूल पुजारी देवदत्त भट्टले बताउनुभयो । सामूहिक रूपमा जमरा राख्ने प्रचलनले सामाजिक सद्भाव पनि कायम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

नवरात्र सुरु भएसँगै देवीदेवताका मन्दिरमा भक्तजनको घुइँचो बढेको छ । बसाइँसराइ गरेर गएका पनि दसैँको समयमा थातथलोमा फर्कने भएकाले शक्तिपीठ तथा मन्दिरमा घुइँचो लागेको हो । 

प्रकाशित : ७ आश्विन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६