ब्रेकिंग न्युज

सिरहामा विद्युत् चुहावट बर्सेनि बढ्दो



सिरहा, ८ असोज
सिरहामा विद्युत् चुहावटको मात्रा हरेक वर्ष बढ्दै गएको पाइएको छ । नेपाल विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा चुहावटको मात्रा ३१ दशमलव ६५ प्रतिशत रहेकामा आव २०८१÷८२ मा यो बढेर ३८ दशमलव १० प्रतिशत पुगेको छ । हालैको तथ्याङ्कानुसार आव २०८२÷८३ को साउनसम्ममा चुहावट झनै बढेर ४४ दशमलव ४६ प्रतिशत पुगेको छ ।

वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताका अनुसार चुहावटको मुख्य कारणमध्ये एक हुकिङ गरेर अत्यधिक मात्रामा कृषि मिटरको दुरुपयोग हुनु हो । लामो खडेरीका कारण धान रोपाइँ तथा सिँचाइका लागि केही लचिलो नीति अवलम्बन गरिए पनि प्राधिकरण अब कडाइका साथ चोरी नियन्त्रणमा लाग्ने उहाँले स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभयो, “यस वितरण केन्द्रबाट १७ हजार कृषि मिटर वितरण गरिए पनि किसानले मुस्किलले पाँच हजार मिटरमात्र खेतमा राखेका छन्, बाँकी सबै घरमै राखेर दुरुपयोग गरिएको छ ।” कृषि मिटरको सुरक्षित प्रयोग नगर्दा बर्सेनि मानिसको मृत्युसमेत भइरहेको जानकारी दिँदै गुप्ताले विद्युत् चोरीलाई नियन्त्रण गर्न कानुनी कारबाहीलाई कडाइका साथ कार्यान्वयन गरिने बताउनुभएको छ ।

प्राधिकरणका अनुसार विद्युत् चुहावटको प्रमुख कारणमध्ये चोरीलाई न्यूनीकरण गर्न सके यसले चुहावट नियन्त्रणमा टेवा पुर्याउनुका साथै प्राधिकरणको आर्थिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्नेछ । यसका लागि प्राधिकरणले मिटरको माग गर्दा तोकिएको समयमै मिटर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

कार्यालयले विद्युत् चोरीलाई सामाजिक अपराधका रूपमा स्थापित गर्दै स्थानीय तहसँग साझेदारीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । विद्युत् चोरी नियन्त्रण ऐन, २०५८ अनुसार चोरीबाट वितरकलाई हानि भएमा सोबापतको क्षतिपूर्ति तिर्नुपर्नेछ । यदि कसुर पुनः दोहोरिएमा वास्तविक हानिको दुई सय प्रतिशतसम्म क्षतिपूर्ति कसुरदारले बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

सिरहामा प्राधिकरणको लहान, मिर्चैया र सदरमुकाम सिरहामा गरी तीनवटा वितरण केन्द्र छन् । जसमध्ये लहान वितरण केन्द्रअन्तर्गत लहान, सुखीपुर, धनगढीमाई नगरपालिका तथा बरियारपट्टी, विष्णुपुर, औरही, लक्ष्मीपुर पतारी र भगवानपुर गाउँपालिका रहेका छन् ।

प्रकाशित : ८ आश्विन २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६