ब्रेकिंग न्युज

पहिराले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित



म्याग्दी, २१ असोज
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ ।

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम चिन र भारत जोड्ने सडक पनि हो । 

कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ । यातायात ब्यवसायी भोजबहादुर थापाले सिरुवारी र खामभित्ताको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको बताउनुभयो । 

“सामान्य वर्षा हुनेवित्तिकै पहिरो खसेर सडक अवरुद्ध हुनुका साथै साँघुरो र हिलाम्मे सडकमा जोखिम मोलेर सवारी साधन वारपार गर्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो “सवारी साधन गुडिरहेको र यात्रु हिडिरहेको अवस्थामा माथिबाट ढुङ्गा खस्ने चोटपटक लाग्ने, क्षति पुग्ने गरेकाले सावधानी अपनाएर यातायात सञ्चालन गरेका छौ ।” 

सडक मुनी कालीगण्डकी नदी छ भने करिब आठ सय माथि र दुई सय मिटर चौडाईको पहिरो छ । पाखो पहिरोमा परिणत भएको छ । माझखर्कको बस्तिमा पनि जोखिम बनाएको छ । कोरला नाकामा सामान लिन जाने र आउने ठूला कन्टेनरहरुले पनि यही सडक प्रयोग गर्छन् । 

मुस्ताङ जाने आउने यात्रुबाहक बस र गाडीहरुको सिरुबारी पहिरोमा जाम हुने गरेको छ । गाडी फस्ने र साँघुरो भएकाले जाम हुने गरेको रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनले बताउनुभयो । साँघुरो भएकाले पहिरो क्षेत्रमा दुईतर्फी यातायातका साधन सञ्चालन गर्न सकिदैन् । 

बेनी–जोमसोम सडकमा यो बर्खामा सबैभन्दा धेरै अवरुद्ध सिरुवारी र खामभित्तामा भएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेको छ । बर्खायामभरी पहिरो पन्छाउदै यातायात सञ्चालन गर्दै आएको योजनाका इञ्जिनियर बिष्णु चापागाईले बताउनुभयो । 

बर्षा रोकिएपछि पहिरोलाई पन्छाएर सरसफाई गरिने र दुईतर्फी गाडी चल्ने बनाइने उहाँले बताउनुभयो । “सिरुवारीमा ठूलो पहिरो भएकाले यसको रोकथामका लागि अध्ययन भइरहेको छ,” उहाँले भन्नुभयो “तत्काललाई मर्मत गर्दै यातायात सञ्चालन गरिएको छ ।” 

बेनी–जोमसोम सडकमा पर्ने चमेरे, बैसरी, गुइठेभिर, लाटाखोलाको पहिरो रोकथाम तथा रुप्से क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा सडक ढलान गर्ने योजनाको ठेक्का सम्झौताको तयारी भएको पनि इञ्जिनियर चापागाईले जानकारी दिनुभयो ।

प्रकाशित : २१ आश्विन २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६