जीवनशैली

सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेणा मिलोस्ः पूर्वराष्ट्रपति भण्डारी



काठमाडौँ, ४ कात्तिक

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीको उज्यालोले सबैलाई सत्य, न्याय, सदाचार र मानवताको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

तिहार पर्व–२०८२ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै नेपालीहरूको महान पर्व तिहारको पावन अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

“मुलुक हाल अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको यस कठिन घडीमा, तिहारजस्ता पर्वहरूले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ, “हामी बीच रहेका जस्तोसुकै मतभेद वा वैमनश्यताको पनि शान्तिपूर्ण संवाद, सहकार्य र जनअभिमतको माध्यमबाट समाधान खोज्न सकिन्छ भन्ने प्रेरणा यो उज्यालो पर्वले सबैलाई प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

तिहारसँग अभिन्न रूपमा जोडिएको देउसी–भैलो खेल्ने परम्परा विशुद्ध नेपाली मौलिक संस्कृति भएको र जसले समाजमा एकता तथा भाइचारालाई प्रगाढ बनाउने सन्देशमा उल्लेख छ । 

“यसबाट सङ्कलित कोष सामाजिक र सामूदायिक हितमा लगाउने जस्ता असल परम्परा र अभ्यासलाई हामीले संरक्षण गर्नुपर्दछ”, सन्देशमा भनिएको छ, “साथै,अनावश्यक भड्किलोपन, विलासिता र जुवा–तासजस्ता नकारात्मक अभ्यासबाट टाढा रहँदै, मितव्ययी र संयमित ढङ्गले तिहार मनाउनुपर्छ, जसले गर्दा यस पर्वको मौलिक सामाजिक–सांस्कृतिक मूल्यलाई जोगाउन सकियोस् ।”

तिहार पर्वको अवसरमा मानव जीवनसँग अभिन्न रूपमा जोडिएका काग, कुकुर, गाई र गोरुजस्ता पशुपंक्षीका साथैधन–ऐश्वर्य तथा समृद्धिको प्रतिक देवी लक्ष्मी, प्राकृतिक स्रोतको प्रतिक गोवद्र्धन पर्व र भाइको पूजा गरिनुका साथै देउसी–भैलो खेल्दै नाचगान तथा मनोरञ्जन गर्ने परम्परा रहिआएको सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, “यसरी तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी र दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउँदछ ।”

प्रकाशित : ५ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६