तनहुँ, ४ कात्तिक
यहाँको आँबुखैरेनी गाउँपालिका–१ को याञ्चोकटार लघु उद्यमी महिला समूहमा आबद्ध महिलाहरूले सामूहिक रूपमा सयपत्री फूलखेती गरेका छन् ।
याञ्चोक आमा समूह र आँधीमूल आमा समूहलाई ‘मर्ज’ गरी यहाँका महिलाहरूले विसं २०८० देखि व्यावसायिक फूलखेती गरिरहेका हुन् । अन्य बालीनाली लगाउँदा बाँदरले खाएर दुःख दिन थालेपछि फूलखेती सुरु गरेका उद्यमीहरूले जनाएका छन् ।
समूहकी अध्यक्ष सुन्तली गुरुङले विशेष गरी तिहारका समयमा यस खेतीबाट बढी आम्दानी हुने गरेको बताउनुभयो । यसपटकको तिहारको भाइटीका नजिकिँदै गर्दा फूल र मालाका माग धान्न भ्याइनभ्याइ भएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “मागअनुरुप पु¥याउन यतिबेला धौ धौ भएको छ, दैनिक ४० जना जनशक्ति फूल टिप्न र माला बनाउन खटिइरहेका छन् । कतिपय व्यवसायीहरू फूल खोज्दै बारीमा पुग्न थालेपछि बजारीकरणमा सहज भएको छ,” उहाँले भन्नुभयो, “गत वर्ष चार लाख ३० हजार बराबरको फूल बिक्री भएकामा यस वर्ष रु पाँच लाख बढीको बिक्री हुने अपेक्षा गरिएको छ ।”
मलिलो माटो भएको थोरै जमिनमा गरिएको फूलखेतीमा सामान्य किसानले पनि रु. ३५÷४० हजारसम्मको फूल बिक्री गर्न सफल भएका छन् । समयमा नै बजार सुनिश्चित नहुँदा अहिले माला बनाउन भ्याइनभ्याइ हुने गरेको आँबुखैरेनी कृषि शाखाप्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरुमा जसजसले बुकिङ गरे उनीहरूलाई दिन मात्रै सकिएको छ, अहिले आएर अर्डर गर्नेलाई फूल र माला बिक्री गर्न सकिरहेका छैनौँ ।”
अहिले ५० रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ । उहाँले भन्नुभयो, “मलिलो जग्गामा गरिएको भए करिब १५÷१६ लाखको फूल उत्पादन हुनुपर्ने हो तर सोचेअनुरुपको उत्पादन लिन सकिरहेका छैनौँ ।”
तीन सयवटा मखमली फूलको माला तयार गरिएको छ । प्रतिमाला रु ८० देखि १०० सम्म बिक्री मूल्य तय गरिएको छ । सयपत्रीको तुलनामा यसको माग कमी देखिएको किसानहरू बताउँछन् । सयपत्री फूल प्रतिकिलोग्राम रु ३५० देखि ४०० सम्म र माला रु १०० देखि १५० सम्म मूल्य कायम गरिएको छभने दमौली, पोखरा र आँबुखैरेनीका बजारमा फूल बिक्री हँुदै आएको छ ।
यसबर्ष कतार नपठाइनेः
यो वर्ष बाह्य देशहरूमा फूल निर्यात नगरिने गाउँपालिकाले जनाएको छ । आन्तरिक माग बढी भएका कारण स्वदेशमा नै खपत गर्न लागेको हो । गत वर्ष माला तयार गरी बिक्रीका लागि कतारमा पठाइएको थियो ।
महायज्ञका लागि एक हजार माला ‘बुकिङ’
त्यसैगरी कात्तिक ८ देखि १५ गतेसम्म आँबुखैरेनीमा हुन गइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका लागि एक हजार माला ‘बुकिङ’ गरिसकेको कृषि शाखाप्रमुख केसीले बताउनुभयो ।
छिम्केश्वरी–बूढीदेवी मन्दिरको बृहत्तर क्षेत्रको विकासका लागि छिम्केश्वरी पर्यटन विकास समितिले महायज्ञको आयोजना गरेको हो । महायज्ञमा पण्डित दीनबन्धु पोख्रेलले कथावाचन गर्ने कार्यक्रम रहेको छ ।
गत वर्षको तुलनामा यस वर्ष प्रतिमाला रु ५० बढी मूल्य पाइएको पुष्प व्यवसायीहरू बताउँछन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा सयपत्रीको खेती प्रविधि र बजारीकरणमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।
“अर्को वर्ष बुकिङ काउन्टर एक महिनादेखि नै खुला गर्ने योजना बनाइएको छ,” उहाँले भन्नुभयो, “फूलखेतीले त्यस क्षेत्रका महिलाहरू आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएका छन् ।”








प्रतिक्रिया