अर्थ-वाणिज्य

दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन



म्याग्दी, १४ कात्तिक

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटका इन्द्रप्रसाद सुवेदीले दुवै आँखा देख्नुहुन्न । आवाजको भरमा मान्छे चिन्नुहुन्छ । हिँडेर घरदेखि टाढा जान सहयोगीको आवश्यकता पर्छ । शारिरीक रूपमा अशक्त भए पनि इन्द्रप्रसादले कृषि फार्म सञ्चालन गरेर सफल उद्यमीको पहिचान बनाउनुभएको छ । कृषि फार्म सुरु गर्नुअघि इन्द्रप्रसादले रोजगारीका लागि १३ वर्ष कतार, साउदी र मलेसियामा श्रम र पसिना बगाउनुभयो । विदेशमा सोचेजस्तो सफलता मिलेन ।

विदेशमा मेसिनरी उपकरणमा काम गर्ने क्रममा आँखाको दृष्टि गुम्यो । आँखामा समस्या देखिएपछि स्वदेश फर्किएका इन्द्रप्रसादले १० वर्षअघि कृषि फार्म स्थापना गर्ने योजना सुनाउँदा धेरैले विश्वास गरेनन् । “विदेशबाट फर्केर आएपछि मेरा आँखा बिग्रिए पनि हिम्मत हारिन”, उहाँले भन्नुभयो, “खेतालाहरूलाई आइडिया दिएर काम गराइरहेको छु ।”

कृषि पेसाबाटै आत्मनिर्भर बनेका इन्द्रप्रसाद र उहाँकी श्रीमतीले सञ्चालन गरेको इन्द्रदेवी कृषि फार्मले पाँच जनालाई आंशिक रोजगारी दिएको छ । कृषि फार्मबाट भएको आम्दानीले घरव्यवहार चलाउने र छोरीलाई काठमाडौँमा विज्ञान विषयमा स्नातक तह अध्यापन गराउनुभएको छ ।

तरकारी बेचेर भएको आम्दानी उहाँले आँखाको उपचारमा खर्चिए पनि सफल हुनुभएको छैन । इन्द्रप्रसादका अनुसार आँखाको समस्या नै पहिचान नहुँदा ठूला अस्पताल र नेत्ररोग विषेशज्ञहरूकहाँ पुगे पनि उपचार सफल नभएको हो । इन्द्रप्रसादलाई कामदार खोज्न भौतारिनु पर्दैन ।

कामदार काम खोज्दै घरमै आउँछन् । घरवरपरको २० रोपनी पाखोबारीमा सुन्तला बगैँचा छ । हुर्कँदै गरेका सुन्तला बगैँचाभित्रको जमिनलाई सदुपयोग गरेर अन्तरेबालीको रूपमा बन्दा, काउली र अदुवाखेती गर्नुभएको छ । नजिकै ३० रोपनीमा व्यावसायिक आलुखेती गर्नुभएको छ ।

गत वर्ष रु चार लाख मूल्य बराबरको ८० क्विन्टल आलु बिक्री भएको इन्द्रप्रसादले बताउनुभयो । मौसमी र बेमौसमी तरकारीबाट थप आम्दानी हुन्छ । भँैसी र बाख्रा पनि पाल्नुभएको छ । गाउँमै कच्ची सडक पुगेको हुँदा उत्पादन भएको तरकारी बजार पुर्याउन समस्या छैन । फोनमार्फत माग सङ्कलन गरेर बेनी, कुश्मा र बागलुङका व्यापारीलाई तरकारी पठाउनुहुन्छ । व्यापारीले खातामै पैसा पठाउँछन् ।

शारीरिक रूपमा अशक्त भए पनि हिम्मत नहार्ने हो भने सफलता हात पार्न सकिने सन्देश इन्द्रप्रसादले दिनुभएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । “आँट र साहस हुने तथा परिवारका सदस्यले साथ दिने हो भने व्यवसाय र उद्यम गर्न शारीरिक अशक्तता बाधक बन्दैन भन्ने उदाहरण इन्द्रप्रसाद हुनुहुन्छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले उहाँलाई खेतीका लागि प्राविधिक र आर्थिक सहयोग गरेको छ ।” पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले सुन्तलाखेतीका लागि बिरुवा खरिद, खाडल खन्न, उपकरण खरिद र पोखरी निर्माण गर्न ५० प्रतिशत अनुदान सहयोग गरेको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

प्रकाशित : १५ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६