ब्रेकिंग न्युज

पुल नहुँदा सास्ती



तुलसीपुर (दाङ), २५ कात्तिक
तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन ।

त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय बालाराम घर्तीले बताउनुभयो । उहाँका अनुसार तीन स्थानमा झोलुङ्गे पुल भए पनि अन्य स्थानमा अझै पनि पुल निर्माण भएका छैनन् । 

बराखुट्टी र गाईखुट्टीको बीचमा एउटा झोलुङ्गे पुल छ । त्यस्तै साजखुट्टी र बराखुट्टी जोड्ने अर्को पुल छभने अमुवापुरमा गरी तीन झोलुङ्गे पुल छन् । ती झोलुङ्गे पुलबाट आवतजावतमा केही सहज भए पनि अन्य छवटा स्थानमा झोलुङ्गे पुल पनि छैनन् । ती स्थानमा झोलुङ्गे पुलसमेत नहुँदा बर्सातको समय निकै समस्या हुने उहाँको भनाइ छ ।

“हामीले त्यही खोला नौ ठाउँमा तर्नु पर्छ”, उहाँले भन्नुभयो, “तीन ठाउँमा पुल बनेकाले सहज भए पनि अन्य ठाउँमा एकदमै गाह्रो छ ।” गिधनियामा बन्न थालेको पुल पनि सात वर्षदेखि अलपत्र छ । जुन ठाउँमा अहिले दुईवटा पिल्लर मात्रै छन् । त्योभन्दा अगाडि बढ्न सकेको छैन । यसरी पुल अलपत्र भएपछि आफूहरू आजित भएको स्थानीय भक्तबहादुर बस्नेतले बताउनुभयो । “बन्न लागेका पुल पनि बीचमै अलपत्र छन्”, उहाँले भन्नुभयो, “यसरी त हामी निकै मारमा परेका छौँ ।”  

हाल सोही ठाउँको मजघटुवामा पुल निर्माणका लागि प्रक्रिया अघि बढेको छ । उपमहानगरपालिकाले त्यसका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । उपमहानगरपालिका भित्रकै पहिलो बक्स पुल निर्माणका लागि सोही स्थानमा सर्वेसमेत भइरहेको नगर प्रमुख टिकाराम खड्काले बताउनुभयो । 

उहाँका अनुसार सोही पुल आउँदो जेठसम्म सक्नेगरी तयारी गरिएको छ । जहाँ पुल निर्माण भएपछि त्यहाँका आधा दर्जन बढी गाउँलाई सहज हुने उहाँको भनाइ छ । मजघटुवा, रनियापुर, बराखुट्टी, सासखुट्टी, मन्नामेलगायतका बासिन्दालाई सहज हुने उहाँको भनाइ छ । 

प्रकाशित : २६ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६