८ मंसिर, काठमाण्डौं
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेन(जी आन्दोलन आफ्नो विरुद्ध मात्र नभई राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि प्रहार गर्ने गम्भीर षड्यन्त्र भएको दाबी गरेका छन्। संचारकर्मीसंगको विशेष कुराकानीमा उनले आफूलाई हटाउने लक्ष्यसँगै देशलाई निर्बल, आश्रित र अस्वाधीन बनाउने प्रयत्न भइरहेको आरोप लगाए।
ओलीले संविधान मिचेर संसद विघटन गरेको दाबी गर्दै प्रजातन्त्र र जनप्रतिनिधिमूलक संस्थामाथि आक्रमण गरिएको बताए। उनले असुरक्षा बढेको, पूँजी पलायन रोकिन नसकेको र अराजकतामूलक गतिविधि फैलन दिएको आरोप समेत लगाए।
जेन(जी आन्दोलनका सम्मिलितहरूबारे ओलीले “कलिला जेन(जी होइन रहेछन्, छिप्पिएका रहेछन्” भन्दै पछाडि शक्तिशाली समूह रहेको टिप्पणी गरे। भदौ २३–२४ को घटनाबारे गठित छानबिन आयोग एमालेले मान्यता नदिने स्पष्ट पार्दै आयोगका सदस्यहरू पूर्वाग्रही भएकाले आफू उपस्थित नहुने बताए।
ओलीले संविधान मिचिएकै कारण आवश्यकता परे सेनाको सुरक्षामा संसद बैठकसम्म बोलाउन सकिने दाबी गरे। संविधानलाई पुनः सही मार्गमा ल्याउन संसद पुनर्स्थापना आवश्यक रहेको उनको भनाइ छ।








प्रतिक्रिया