लुम्बिनी, २६ मंसिर
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हल, लुम्बिनीमा तीनदिने ‘विश्व शान्ति कार्यक्रम’ बिहीबारदेखि सुरु भएको छ। कार्यक्रमको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक मेयर कल्पना हरिजन र आयोजक द प्रमिस ल्याण्ड का अध्यक्ष निकेश अधिकारीले संयुक्त रूपमा गरे।
उद्घाटन समारोहमा बोल्दै कार्यवाहक मेयर हरिजनले नगरका १० सामुदायिक विद्यालयमा बुद्ध शिक्षा लागू गर्न पहल गर्दै लगिने बताइन्।
उनी भनिन्, “विश्वका नगरपालिका धेरै छन् तर बुद्ध जन्मस्थल एक मात्र छ। शान्ति र समृद्धिका लागि यस्ता कार्यक्रम अत्यन्तै महत्वपूर्ण छन्।”
आध्यात्मिकता, नेतृत्व र विश्व शान्तिबारे अन्तरक्रिया कार्यक्रमको पहिलो दिन इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन र सुधांशु दाहालबीच आध्यात्मिक रूपान्तरण, नेतृत्व र विश्व शान्ति विषयक संवाद भएको थियो। ताम्रतले भने, “हामी विभिन्न देशबाट आएका छौँ, तर सबैको चाहना एउटै हो—शान्ति।” जीवन विज्ञान प्रतिष्ठानका एल.पी. भानु शर्माले नेपालमा १९ हजार वर्ष पुरानो आध्यात्मिक इतिहास रहेको उल्लेख गर्दै मेडिटेसनसम्बन्धी प्रस्तुति दिए।
राजेश हमालको ‘कीनोट’ ः “समाजमा द्वन्द्व, शान्तिका लागि सबैले काम गर्नुपर्छ” कार्यक्रममा अभिनेता राजेश हमाल, ट्रेजर कार्बन ग्रुपकी सीईओ सुसन झु लगायतले कीनोट स्पिच दिए।
हमालले नेपालीहरूमा रहेको सकारात्मकता उल्लेख गर्दै भने, “मेरा फिल्मका द्वन्द्व केही क्षणका मात्र हुन्छन्, तर समाजमा द्वन्द्व लगातार भइरहन्छ। शान्तिका लागि हामी सबैले काम गर्नै पर्छ।”
लुम्बिनीभित्र ‘दुई लुम्बिनी’ को प्रसंग ः सागर भन्तेले लुम्बिनी क्षेत्रमा दुई लुम्बिनी—कोषभित्र र कोषबाहिर—रहेको उल्लेख गर्दै कोषबाहिरका बासिन्दाको विकासमा अब ध्यान केन्द्रित हुनुपर्ने बताए।
उनले भने, “लगानी गर्न विश्वभरका धनाढ्य बुद्धिस्ट इच्छुक छन्। स्थानीय तहसँग समन्वय गरी कानुन अनुसार काम गर्न सकिन्छ।”








प्रतिक्रिया