देश

एमालेको महाधिवेशनः नेतादेखि प्रतिनिधिको दौडधूप, चहलपहल वृद्धि



प्रकाश सिलवाल, रासस

काठमाडौँ, २६ मङ्सिर

 नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थितिका कारण काठमाडौँ उपत्यकामा रौनक थपिएको छ ।

भोलि मङ्सिर २७ गतेदेखि काठमाडौँमा सुरु हुने तीनदिने महाधिवेशनमा सहभागी हुन आउने पार्टी प्रतिनिधिसहित नेता तथा कार्यकर्ताबीचको भेटघाट, छलफल, चुनावी बहस र प्रचारप्रसारले तीव्रता पाउँदा चहलपहल बढेको हो ।

विशेषगरी च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय, भक्तपुरको सल्लाघारीस्थित महाधिवेशन उद्घाटनस्थलसहित प्रभावशाली एवं शीर्ष नेताहरूको निवासमा चलहपहल बढेको देखिन्छ ।

यसैगरी, पार्टी पदाधिकारी एवं केन्द्रीय सदस्य पदमा आकाङ्क्षी नेताहरूको ‘लविङ’ र उनीहरूका पक्षमा रानीतिक माहोल सिर्जना गर्न चाहने शुभेच्छुक तथा कार्यकर्ताको दौडधूपले पनि राजनीतिक चहलपहल बढेको देखिन्छ । 

मुलुकमा विकसित विषम राजनीतिक परिवेशकाबीच आगामी पाँच वर्षका नेतृत्व चयन गर्ने सन्दर्भमा हुन गइरहेको राष्ट्रिय महाधिवेशनका अवसरमा चहलपहल हुनुलाई स्वाभाविक रुपमा लिइनुपर्ने राजनीतिक विश्लेषकको भनाइ छ ।  

राष्ट्रिय महाधिवेशनलाई एउटा उत्सवमात्र नभई पार्टी र देशको भविष्यका लागि नयाँ चुनौतीका विषयमा विमर्श गर्ने अवसरका रुपमा पनि प्रतिनिधिले लिएका छन् । प्रतिनिधिहरु आफ्नो परिचयपत्र लिन र नेतृत्व चयनमा निर्वाचन भएमा कसरी प्रस्तुत हुने भन्ने विषयमा चासोपूर्वक लागिरहेका देखिन्छन् ।

महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको निरन्तरता र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वमा पुस्तान्तरण भन्ने अन्तरपार्टी बहस चलिरहेको छ । राष्ट्रिय  राजनीतिमा सङ्कटका समयमा यसलाई सामना गर्नसक्ने नेतृत्व ओली नै हो भन्ने संस्थापन पक्षको धारणा र नेतृत्वमा पुस्तान्तरण, हस्तान्तरणसहित  रुपान्तरण हुनुपर्ने आवज वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षबाट आइरहेको छ ।

एमालेको सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेछन् । सो सङ्ख्याको पाँच प्रतिशतसम्म प्रतिनिधि मनोनीत गर्न सकिने व्यवस्था रहेको छ । पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का ३०९ सदस्यले पनि महाधिवेशनमा सहभागी हुन पाउनेछन् ।

मनोनीत हुने प्रतिनिधि, विधानमा कुनै संशोधन गर्ने नगर्ने या महाधिवेशमा कुनै प्रस्तावमा छलफल गर्ने नगर्ने भन्नेबारेमा आज बस्ने पार्टीको सचिवालय बैठकले निर्णय गर्ने नेता अधिकारीले जानकारी दिनुभयो ।

यसअघि, वरिष्ठ उपाध्यक्ष पोखरेलले जेनजी आन्दोलनपछिको अवस्थालाई समीक्षा गर्नुपर्नेगरी आफ्नो अवधारणापत्र पार्टीका महासचिव शङ्कर पोखरेललाई हस्तान्तरण गरिसक्नुभएको छ । पार्टीका अन्य नेताहरुले गत भदौ २०–२२ मा काठमाडौँमा सम्पन्न दोस्रो विधान महाधिवेशनमा राजनीतिक दस्तावेजमा छलफल भइसकेका सन्दर्भमा नीतिभन्दा नेतृत्वका विषयमा राष्ट्रिय महाधिवेशन केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरिरहनुभएको छ ।

एमालेका उपमहासचिव एवं जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले आफूहरु महाधिवेशनको अन्तिम तयारीमा पुगेको जानकारी दिँदै भक्तपुरको तीनकुनेस्थित सल्लाघारीको खुला मैदानमा मञ्च निर्माण तथा व्यवस्थापनलगायत काम अन्तिम चरणमा पुगेको बताउनुभयो । 

उहाँले महाधिवेशनको उद्घाटन सत्रमा विशेषगरी बागमती, मधेस र गण्डकी प्रदेशसहित देशभरबाट उल्लेखनीय सङ्ख्यामा जनसहभागिता हुनेगरी व्यापक प्रचारप्रसारसहित तयारी भइरहेको जानकारी दिनुभयो ।

नेता ज्ञवालीका अनुसार एमालेले महाधिवेशनमा शुभकामना दिन विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेसहित १६ राष्ट्रिय दलका प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । जेनजी आन्दोलनपछिको विशेष अवस्था भएकाले विदेशका नेता तथा पाहुनालाई यस महाधिवेशनमा निम्तो नदिइएको एमालेका बागमती प्रदेश इञ्चार्ज डा राजन भट्टराईले जानकारी दिनुभयो ।  

उहाँका अनुसार भारत, चीन, क्युबालगायत मुलुकका पार्टीबाट शुभकामना सन्देश प्राप्त भएको छ । यस्तै नेपालस्थित कूटनीतिक मिसनलाई महाधिवेशनमा बोलाइएको छ ।

महाधिवेशन सफलतपूर्वक भव्य रुपमा सम्पन्न गर्न गठित स्वयंसेवक परिचालन, आवास, खाद्यान्न, यातायात, प्रचारप्रसार, सांस्कृतिक, आर्थिक, प्रतिनिधि व्यवस्थापनलगायत समितिहरू आआफ्ना जिम्मेवारी पूरा गर्न व्यस्त देखिन्छन् ।

एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमार्फत राष्ट्रिय एकता र निकासका निम्ति सम्पूर्ण नागरिकलाई अपिल गरिने बताउनुभयो । उहाँले महाधिवेशनको प्रतीक चिन्ह (लोगो) मा काठमाडौँ उपत्यकाका ऐतिहासिक एवं सांस्कृतिक सम्पदा धरहरादेखि, रञ्जना लिपी, न्यातपोल दरबार र शान्तिको प्रतीक पनि समावेश गरेर नेवाः संस्कृति र ऐतिहासिकतालाई महत्व दिन खोजिएको बताउनुभयो ।

 ‘राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल र सुखी, नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा रहेको महाधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्नुहुने छ । महाधिवेशन उद्घाटनका अवसरमा सांस्कृतिक कार्यक्रमसहित स्थानीय झाँकी तथा वेषभूषामा सज्जित कलाकारले प्रदर्शन गर्नुहुने कार्यक्रम छ ।  

प्रकाशित : २७ मंसिर २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६