अर्थ-वाणिज्य

जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन



जुम्ला, २ पुस

जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा रु ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लस्थित कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यहाँका आठवटै स्थानीय तहका २४ हजार ८३८ परिवारमध्ये १९ हजार १५० परिवार स्याउखेतीमा संलग्न छन् । जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर रहेको कार्यालयले जनाएको छ । त्यसमध्ये स्याउखेती गरिने क्षेत्रफल आव २०८१/८२ मा चार हजार ३२५ हेक्टर रहेकामा चालु आवमा बढेर चार हजार ४४५ हेक्टर पुगेको कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा दुई हजार १२५ हेक्टरमा मात्रै स्याउ फलेको हो । पछिल्लो समय जिल्लामा स्याउखेती गर्ने किसान बढ्दै गएका छन् । आव २०८१/८२ मा स्थानीय जातका र उच्च घनत्व (फुजी) स्याउको कूल उत्पादन आव २० हजार ५१२ मेट्रिकटन भएको थियो । चालु आवमा उत्पादन घटेर १८ हजार २४५ मेट्रिकटन भएको कृषि विकास कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष असिना र वेमौसमी वर्षाले गर्दा १० प्रतिशतले उत्पादन घटेको हो । अहिले एक हजार ७६५ मेट्रिकटन स्याउ भण्डारगृहमा राखिएको छ । यो वर्ष जिल्लामा स्याउ बिक्रीमा संलग्न किसान सात हजार ३५० र व्यापारी ६०३ रहेका कृषि विकास कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । नासो र कोसेलीमार्फत दुई हजार ६४८ मेट्रिकटन स्याउ जिल्लाबाट निर्यात भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा हाल ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा उच्च घनत्वको स्याउ उत्पादन हुने गरेको छ । यो वर्ष जिल्लामा ५८६ मेट्रिकटन उच्च घनत्व जातको स्याउ उत्पादन भएको जनाउँदै उहाँले त्यसमध्ये ४२७ मेट्रिकटन निर्यात भएको बताउनुभयो । जिल्लामा हाल उत्पादित स्याउका जातहरूमा ‘रेडडेलिसियस’, ‘रोयलडेसियस’, ‘गोल्डेन डेलिसियस’, ‘रिचारेड’ र ‘जनाधन’ रहेका कृषि विकास कार्यालयले जनाएको छ । हाल उत्पादित उन्नत जातमध्ये फुजी गाला (इटालियन जात)को स्याउखेती हुने गरेको प्रमुख अधिकारीको भनाइ छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले नयाँ सिफारिस गरेका जातमध्ये ‘स्टारकिमसन’, ‘डेलिसियस’, ‘बाइट एन अर्ली’ र ‘स्टार्क स्पर गोल्डेन’ जात रहेका भन्दै उहाँले सोको खेतीबारे अध्ययन भइरहेको जानकारी दिनुभयो । गत वर्षको तुलनामा स्याउ उत्पादन कम भए पनि यो वर्ष किसानले मूल्य पाएकाले आम्दानी भने बढी भएको अनुमान गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित : २ पुस २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६