लुम्बिनी (मर्चवार), ४ पुस
विश्वशान्तिको मुहान लुम्बिनी केवल धार्मिक स्थल मात्र नभई प्राकृतिक एवं वातावरणीय सम्पदाको जीवित अवशेष पनि हो । यसै प्राचीन परिवेशको महत्त्वपूर्ण जलस्रोत तथा बुद्धकालीन यात्रापथको साक्षी ‘तेलार नदी’ यतिबेला आफ्नो अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेको छ । “विगतमा बाह्रै महिना कञ्चन पानी बग्ने यो नदी अहिले ढल र फोहर फाल्ने ठाउँ बनेको छ”, लुम्बिनी सांस्कृतिक नगरपालिका–८ महिलवार निवासी लक्ष्मी थारूले भन्नुभयो, “नदीजन्य पदार्थको दोहन, प्रदूषण र अतिक्रमणले गर्दा तेलार नदी, साँघुरो नालामा परिणत हुँदै गएको छ ।” बौद्ध ग्रन्थ ‘निदान कथा’ र स्थानीय किंवदन्तीका अनुसार राजकुमार सिद्धार्थ गौतमको जन्मपछि देवताहरूले नुहाउनका लागि तातो र चिसो पानीका साथै तेलका धाराहरू पनि बगाएका थिए । त्यही तेलको धाराबाट यसको उत्पत्ति भएको र नाम ‘तैल’ वा ‘तेलार’ रहन गएको विश्वास गरिन्छ । पुरातत्वविद्हरूले यसलाई ‘स्थलचिह्न’ मान्छन् । सन् १८९६ मा लुम्बिनीलाई आधिकारिक रूपमा प्रमाणित गर्नुअघि तेलार नदी नै त्यो एकमात्र प्राकृतिक चिनारी थियो, जसले लुम्बिनीको वास्तविक अवस्थितिको सङ्केत गरिरहेको थियो । त्यसैले यसलाई बुद्धजन्मस्थलको ‘अदृश्य साक्षी’ भनिन्छ । यति मात्र होइन, तेलारलाई बुद्धको राजधानी कपिलवस्तु समेतको पहिचान गर्ने एक मुख्य भौगोलिक आधार मानिन्छ । सन् १८९६ मा डा ए फुहरर र अन्य पुरातत्वविद्हरूले तिलोराकोटलाई नै वास्तविक कपिलवस्तु हो भनेर पुष्टि गर्दा तेलार नदीको अवस्थितिलाई मुख्य प्रमाण मान्नुभएको थियो । स्थानीय जानकार मेघनाथ आचार्य भन्नुहुन्छ, “मायादेवी देवदह जाँदा होस् वा सिद्धार्थले कपिलवस्तुबाट यात्रा गर्दा, यो नदी पार गर्नु अनिवार्य थियो । यसैले तेलार नदीलाई केवल भौगोलिक र प्राकृतिक स्रोतका रूपमा नभई बौद्धकालीन सम्पदा–नदीका रूपमा अध्ययन, संरक्षण र प्रवर्द्धन गर्न जरुरी छ ।” सन् १८७९ मा स्कटिस लेखक तथा पुरातत्वविद् एसीएल कार्लाइलले आफ्नो पुस्तक ‘आर्कोलोजिकल सर्भे इन इन्डिया’मा तेलार नदीको चर्चा गर्नुभएको छ । चिनियाँ यात्री ह्वेनसाङको यात्रा विवरणमा उल्लेखित ‘तैल नदी’को दूरी र दिशा वर्तमान तेलार नदीसँग हुबहु मेल खाने कार्लाइलको ठम्याइ छ । लुम्बिनीका बौद्ध अध्येता भोला गुप्ताका अनुसार कार्लाइलले तेलार नदीलाई लुम्बिनी पहिचानको मुख्य ‘प्राकृतिक प्रमाण’ मानेका थिए । यही तथ्यलाई आधार मानेर गरिएको खोजका क्रममा सन् १८९६ मा अशोकस्तम्भ फेला पर्यो, जसले लुम्बिनीलाई आधिकारिक रूपमा बुद्ध जन्मस्थल प्रमाणित गरेको हो । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा त्रिभुवन बरइले तेलार नदीलाई प्राचीन समयको ‘जीवित नक्सा’को सङ्ज्ञा दिँदै यसलाई केवल सिँचाइका माध्यम मात्र नभई ‘बौद्धकालीन सम्पदा–नदी’का रूपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो । डा बरइले भन्नुभयो, “यदि समयमै तेलार नदीको सरसफाइ र संरक्षण नगरिए बुद्ध जन्मस्थलको यो मौन साक्षी इतिहासको पानामा मात्र सीमित हुने खतरा छ ।” लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख डा हरिध्वज राईले यसलाई लुम्बिनीको ‘इको–करिडोर’को अभिन्न अङ्ग मान्नुहुन्छ । यस्तै, पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीका अनुसार तेलार केवल एउटा जलमार्गमात्र होइन, यो लुम्बिनीको बुद्धकालीन भूदृश्यको एउटा जीवन्त अङ्ग पनि हो । हाल लुम्बिनीमा भइरहेको भौतिक विकास र मानवीय हस्तक्षेपका कारण यो ऐतिहासिक नदीको प्राकृतिक पहिचान सङ्कटमा छ । यसलाई ‘इको–सांस्कृतिक करिडोर’का रूपमा विकास गर्न ढिलाइ गर्नु हुँदैन । यसै सन्दर्भमा लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “हामी लुम्बिनीको आध्यात्मिक र भौतिक विकासको कुरा त गर्छौँ, तर यसको अस्तित्वसँग जोडिएको तेलार नदीलाई विनाश गर्दैछौँ । यदि सरोकारवाला निकायले तत्कालै अनियन्त्रित उत्खनन र प्रदूषण रोक्न ठोस कदम चालेनन् भने आगामी पुस्ताले तेलारलाई केवल इतिहासका पानामा मात्र सीमित पाउनेछन् । अब यसलाई ‘हेरिटेज रिभर’ (सम्पदा नदी) घोषणा गरेर संरक्षण अभियान चलाउनुपर्छ ।” स्थानीय सरकारको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “तेलार नदी हाम्रो कृषि प्रणाली र धार्मिक–सांस्कृतिक पहिचानको मेरुदण्ड हो । नगरपालिकाले यसको अतिक्रमण रोक्न र यसलाई ‘ग्रीन बेल्ट’का रूपमा विकास गर्न विशेष नीति ल्याउनेछ । तेलार नदीको ऐतिहासिक गरिमा जोगाउनु हामी सबैको साझा दायित्व हो ।” —
Powered By Orson Infotech








प्रतिक्रिया