देश

जनहित र मुलुकको पक्षमा काम गर्नेलाई मतदान गर्न मन्त्री खरेलको आग्रह



पाटन (ललितपुर), ५ पुस

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता र मुलुकको पक्षमा काम गर्ने र सकरात्मक परिवर्तन ल्याउनसक्ने व्यक्तिलाई मतदान गर्न सबैलाई आग्रह गर्नुभएको छ । ललितपुरको इमाडोलस्थित युरो किड्स विद्यालयद्वारा आज आयोजित अभिभावक दिवसमा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्दा सकारात्मक परिवर्तन ल्याउनसक्ने नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिनुभयो । “युवा देश छोडेर विदेशिनुपर्ने अवस्थाको अन्त्यका लागि नेतृत्व छनोटमा आमनागरिक सचेत हुनुपर्छ । सकारात्मक परिवर्तन गर्नसक्ने नेतृत्वले मुलुकभित्र शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा जनहित अनुसार काम गर्न सक्छ”, उहाँले भन्नुभयो । परिवार छोडेर विदेशिनुपर्ने पीडादायी वर्तमान अवस्थालाई चिर्न अबको पुस्ताले स्वदेशमा बसेर काम गर्नसक्ने वातावरण बनाउनुपर्नेमा मन्त्री खरेलले जोड दिनुभयो । “यसका लागि सचेत भएर योग्य र सक्षम नेतृत्व चयन गरौँ । सधैँ अरुलाई दोष लगाएर हुँदैन, काम नगर्नेलाई तिरस्कार गरौँ । वर्तमान सरकारको पहिलो प्राथमिकता तोकिएको समयमा निर्वाचन गराउनु हो, तपाईंहरूले सही नेतृत्व चयन गर्नुहोला”, उहाँले भन्नुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग र आधुनिकताले नातिनातिना र हजुरबुबा हजुरआमाबीचको सम्बन्ध टुट्दै गएकाले सामिप्यता र आत्मियता हराउँदै गएको धारणा राख्नुभयो । “समाजले संयुक्त परिवारबाट एकात्मकतातिर बढावा दिँदै गएको छ, यसले हाम्रो संस्कार, संस्कृति र सभ्यतामाथि प्रहार हुँदै गएको छ”, उहाँले भन्नुभयो । मन्त्री खरेलले नयाँ पुस्ता र ससाना नानीबाबुलाई राम्रो सभ्यता र संस्कार सिकाउन विद्यालयले पनि जोड दिनुपर्नेमा बताउनुभयो । उहाँले असल संस्कारले असल नागरिक बनाउने भन्दै असल नागरिकले समाज र मुलुकलाई सफल बनाउने धारणा राख्नुभयो ।

प्रकाशित : ५ पुस २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६