अर्थ-वाणिज्य

‘सिनर्जी प्राङ्गारिक मल उद्योग’ सञ्चालनमा,दिगो कृषि र सुरक्षित खाद्यतर्फ नयाँ कदम



कपिलवस्तु, पुस ९

बाणगंगा नगरपालिका–१ मा रहेको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापना गरेको सिनर्जी प्राङ्गारिक मल उद्योग औपचारिक रूपमा सञ्चालनमा आएको छ। उद्योगको उद्घाटन बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले एक भब्य कार्यक्रमका बीच उद्योग स्थल बाणगंगा न.पा. ६ स्थित भगलापुरमा गर्नु भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले प्राङ्गारिक मल उद्योग संचालनले दिगो कृषि र सुरक्षित खाद्यतर्फ नयाँ कदमका रुपमा नगरपालिकाले लिएको धारणा राख्नु भयो । नगर प्रमुख अर्यालले प्राङ्गारिक मल उद्योगका निम्ति लागत साझेदारीमा नगरले आवश्यक सहयोग पु¥याउदै आएको र आगामी दिनमा उचित महत्व दिने धारणा राख्नु भयो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले वातावरणको संरक्षण र दिगो विकासका निम्ति मल उद्योग संचालन हुनु निकै अर्थपूर्ण रहने धारणा राख्नु भयो ।

कार्यक्रममा बाणगंगा नगरका कृषि विकास शाखा प्रमुख लेष बहादुर थापा, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जितपुर, कपिलवस्तुका ई. मनिष ठाकुर लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा बाणगंगा नगर उपपप्रमुख रिता कुमारी चौधरी सरोकारवाला एवम् जनप्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले प्राङ्गारिक मल आजको विकल्प नभई अत्यावश्यक आवश्यकता बनेको उल्लेख गरे। पछिल्ला वर्षहरूमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको, उत्पादन लागत बढेको र मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा प्राङ्गारिक खेती अपरिहार्य बन्दै गएको उनको भनाइ थियो।


उनका अनुसार प्राङ्गारिक मलले माटोको जैविक जीवन पुनर्जीवित गर्ने, दीर्घकालीन रूपमा उत्पादनशीलता बढाउने, उत्पादन लागत घटाउने र सुरक्षित खाद्य सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्छ। सिनर्जी प्राङ्गारिक मल उद्योग यही वैज्ञानिक, पर्यावरणमैत्री र किसानमुखी अवधारणामा आधारित रहेको जनाइएको छ।
सिनर्जी सहकारीले कृषि र पशुपालनलाई परस्पर पूरक प्रणालीका रूपमा अघि बढाउँदै आएको बताउँदै अध्यक्षले उद्योगमार्फत पशुपालक किसानको गोबर र जैविक फोहोरलाई उपयोगी स्रोतमा रूपान्तरण गरिने जानकारी दिए। साथै एग्रोभेटमार्फत गोबर परीक्षण सेवा, पासबुक प्रणाली, मौसमी तथा बेमौसमी खेती तालिम, पशुपालन तालिम, विषादी न्यूनीकरण अभियान, कृषि ई–लाइब्रेरी तथा बिउ मिनिकिट वितरण कार्यक्रमलाई थप व्यवस्थित बनाइने बताइएको छ।
उद्योग सञ्चालनसँगै प्राङ्गारिक मल उत्पादनको विस्तार, कृषि उपज खरिद, ब्राण्डीङ र वितरण प्रणालीलाई सुदृढ गर्दै “उत्पादनदेखि बजारसम्म सहकारी” अवधारणालाई व्यवहारमा उतार्ने लक्ष्य लिइएको सहकारीले जनाएको छ।


यस उद्योगले किसानको उत्पादन लागत घटाउने, प्राङ्गारिक खेतीप्रति आकर्षण बढाउने, स्थानीय रोजगारी सिर्जना गर्ने र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। साथै यसले बाणगंगा नगरपालिका तथा लुम्बिनी प्रदेशको कृषि पहिचानलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।


कार्यक्रममा सहकारीले बाणगंगा नगरपालिकाको नगरकार्यपालिका, किसान, पशुपालक, सदस्य तथा सञ्चारकर्मीप्रति सहकार्य र योगदानका लागि धन्यवाद व्यक्त गरेको छ। सहकारीले प्राङ्गारिक मल उद्योगलाई लुम्बिनी प्रदेशकै नमूना उद्योग बनाउने, कृषकलाई उद्यमशील र आत्मनिर्भर बनाउने तथा सुशासन, पारदर्शिता र जवाफदेहितामा प्रतिबद्ध रहने संकल्प दोहो¥याएको छ। उद्घाटन समारोह उपाध्यक्ष कूलराज पौडेलको स्वागत मन्तब्य र सचिव कृष्ण प्रसाद न्यौपानेको संचालनमा सम्पन्न भएको ब्यवस्थापक दिनामणी खनालले जानकारी दिनु भयो ।

प्रकाशित : ९ पुस २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६