देश

जेनजी आन्दोलनका क्रममा फरार १२१ कैदी बन्दी अझै नियन्त्रण बाहिर



कपिलवस्तु, १७ पुस

जेनजी आन्दोलनका क्रममा कपिलवस्तु कारागार कार्यालयबाट फरार भएका १२१ जना कैदीबन्दी अझै नियन्त्रणमा आउन सकेका छैनन् ।

कारागार कार्यालय कपिलवस्तुका प्रमुख दलबहादुर बस्नेतका अनुसार आन्दोलनका क्रममा कुल ४३० जना कैदीबन्दी फरार भएका थिए । तीमध्ये हालसम्म ३०९ जनालाई पक्राउ गरी वा स्वयं उपस्थित गराई नियन्त्रणमा लिइएको छ । कारागारमा रहेका ४५९ कैदीबन्दीमध्ये २९ जना भने फरार नभई कारागारमै बसेका थिए ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार भदौ २५ देखि पुस १५ गतेसम्म ११५ जना फरार कैदीबन्दीलाई कपिलवस्तुबाट पक्राउ गरिएको छ । यस्तै, रुपन्देहीबाट चार जना, रुकुमपश्चिमबाट एक जना पक्राउ गरी बुझाइएको छ । दाङबाट पक्राउ परेका एक जना हाल कारागार कार्यालय दाङमा राखिएका छन् भने एक जना केन्द्रीय कारागार काठमाडौँमा नियन्त्रणमा रहेका छन् ।

यस अवधिमा १८७ जना कैदीबन्दी स्वयं उपस्थित भएका छन् । कारागार कार्यालय कपिलवस्तुले प्रकाशित गरेको सूचना बमोजिम असोज १२ देखि २० गतेभित्र २५ जना स्वयं उपस्थित भएका थिए । भदौ २५ देखि पुस १५ गतेसम्म कुल ३०९ जना कैदीबन्दी पक्राउ तथा स्वयं उपस्थित भइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार हालसम्म २० जना कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ । तीमध्ये १९ जना केन्द्रीय कारागार काठमाडौँ र एक जना (महिला) कारागार कार्यालय पश्चिम नवलपरासी पठाइएको छ । थप १३ जना कैदीबन्दीलाई अन्य कारागार पठाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक सिंहले फरार कैदीबन्दीको खोजी कार्य तीव्र पारिएको बताउँदै सुरक्षा निकायबीच समन्वय गरी खोजी तथा पक्राउ अभियान निरन्तर जारी रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार बाँकी सबै फरार कैदीबन्दीलाई छिट्टै कानुनको दायरामा ल्याउने प्रयास भइरहेको छ । हाल कपिलवस्तु कारागारमा ३७४ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।


प्रकाशित : १७ पुस २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६