घोराही, १७ पुस
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
घोराही उपमहानगरपालिका–१५ स्थित प्रदेश निर्वाचन कार्यालयको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । दाङ जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितको अध्यक्षतामा बुधबार आयोजित कार्यक्रममा औपचारिक रूपमा कार्यालय स्थापना गरिएको हो ।
राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट एक जना अपाङ्ग, एक जना महिला र एक जना अन्य समूह गरी तीन जना सदस्यको पद रिक्त हुँदैछ । ती रिक्त पदका लागि आगामी माघ ११ गते लुम्बिनी प्रदेशको घोराहीमा निर्वाचन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते मतदाताको नामावली प्रकाशन गरिनेछ । प्रकाशित नामावलीविरुद्ध पुस २० गते उजुरी दिन सकिने व्यवस्था छ । पुस २१ र २२ गते निवेदन तथा उजुरीमाथि छानबिन गरी कारबाही गरिनेछ भने पुस २२ गते नै अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ ।
यसैगरी पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता तथा प्रारम्भिक सूची प्रकाशन गरिनेछ । पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ । पुस २५ र २६ गते मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गरिनेछ भने पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् र सोही दिन अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरिनेछ । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ । माघ ११ गते मतदान हुने कार्यतालिका तय गरिएको छ ।
लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य तथा प्रदेशका १२ जिल्लाका १०९ स्थानीय तहका २१८ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३०५ जना मतदाता रहेका छन् ।
निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले कार्यालय स्थापना कार्यक्रममा बोल्दै लोकतन्त्रको समृद्धि र विकासका लागि स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग आवश्यक समन्वय र सहकार्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया