जीवनशैली

सूर्योदय बाणगंगा नगरकै उत्कृष्ट आधारभूत विद्यालय

प्रअ भट्टराईको ३८ वर्षे ऐतिहासिक योगदान



बाणगंगा १७ पुस

बाणगंगा नगरपालिका–८, चप्परगाउँमा अवस्थित सूयोदय आधारभूत विद्यालय शैक्षिक गुणस्तर, प्रभावकारी व्यवस्थापन र भौतिक पूर्वाधार विकासका दृष्टिले बाणगंगा नगरपालिकाकै उत्कृष्ट एवम् भरासायोग्य आधारभूत विद्यालयका रूपमा स्थापित हुन सफल भएको छ ।
वि.सं. २०४४ साल पुस २ गते स्थानीय समुदायको सक्रिय पहलमा स्थापना भएको यस विद्यालयले २०४५ साल चैत २० गते नेपाल सरकारबाट औपचारिक स्वीकृति प्राप्त गरेको हो । स्थापना कालदेखि नै समुदायको साथ र सहभागितामा अघि बढ्दै आएको यस विद्यालयमा हाल बालविकासदेखि कक्षा ८ सम्म नेपाली र अंग्रेजी माध्यमबाट नियमित रुपमा अध्ययन–अध्यापन हुँदै आएको छ ।
प्रअ भट्टराईको ३८ वर्षे ऐतिहासिक योगदान
विद्यालयको यो उपलब्धिपूर्ण यात्राको केन्द्रमा प्रधानाध्यापक धर्मराज भट्टराईको ३८ वर्षे निरन्तर नेतृत्व, लगाव र समर्पण रहेको सरोकारवालाहरू बताउँछन्। भट्टराईले वि.सं. २०४४ साल पुस २६ गते प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँले गत मङ्सिर १७ गते बुधबार शिक्षण सेवाको ३८ वर्ष पूरा गरी अनिवार्य अवकास प्राप्त प्राप्त गर्नुभएको छ ।


दीर्घकालीन नेतृत्वका क्रममा निवर्तमान प्रधानाध्यापक भट्टराईले विद्यालयलाई केवल शैक्षिक संस्था मात्र नभई समुदायको भरोसायोग्य शैक्षिक केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्थानीयको भनाइ छ । अपर्याप्त जनशक्ति, जग्गा–जमिन तथा भौतिक पूर्वाधार लगायतका स्रोत साधनको अभावका बाबजुद पनि विद्यालयलाई सही ढंगले नेतृत्व प्रदान गर्र्दै बाणगंगा नगर भित्रको उत्कृष्ट आधारभूत विद्यालयको रुपमा स्थापित गर्न भट्टराई सफल हुनुभएको छ ।
भौतिक तथा शैक्षिक प्रगति
प्रधानाध्यापक भट्टराईको कार्यकालमा विद्यालयले भौतिक संरचना विस्तारसँगै शैक्षिक सुधारमा उल्लेखनीय फड्को मारेको छ । सुविधासम्पन्न शैक्षिक भवन, प्रविधियुक्त कक्षाकोठा, स्मार्ट बोर्ड मार्फत शिक्षण सिकाइ, निशुल्क कम्प्युटर शिक्षा, सुविधासम्पन्न कम्प्युटर ल्याब, अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन, विद्यालयमा बालमैत्री वातावरण, बालबालिकाको उमेर र रुचिअनुसारका खेलकुद सामग्रीको व्यवस्था, पूर्व प्राथमिक तहमा खेल्दै–सिक्ने अवसर, पर्याप्त पुस्तकसहितको व्यवस्थित पुस्तकालय, प्राथमिक स्वास्थ्य उपचार कक्ष, स्थानीय कला, संस्कृति र इतिहास झल्कने लघु संग्राहलय, सफा विद्यालय प्राङ्गण तथा सुन्दर फुलवारी आदिले विद्यालय आकर्षक बनेको छ ।

हाल विद्यालयमा २३० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले गतवर्षको नतिजामा ८०.६३ प्रतिशत सिकाइ उपलब्धि हासिल गर्दै बाणगंगा नगरपालिकामै उत्कृष्ट नतिजा प्रस्तुत गरेको छ ।


शैक्षिक वातावरण, अनुशासन, शिक्षकको सक्रियता र नियमित मूल्याङ्कन प्रणालीका कारण विद्यालय विद्यार्थी तथा अभिभावकको आकर्षणको केन्द्र बन्दै गएको छ । यस उपलब्धिसँगै सूर्योदय आधारभूत विद्यालय बाणगंगा नगरपालिकाको नमूना विद्यालयका रूपमा स्थापित भएको छ ।
विद्यालयमा हाल १२ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्, जसमध्ये ४ वटा मात्र स्थायी दरबन्दी रहेका छन् भने बाँकी शिक्षक तथा कर्मचारीहरू संघीय अनुदान, जिजी स्रोत लगायत विभिन्न कार्यक्रमअन्तर्गत व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ ।
सामुहिक पहल र सहकार्य
विद्यालयले सुरुआती चरणदेखि नै जग्गाको अभाव भोग्दै आएको भए पनि स्थानीय सामुदायिक वनको सहयोग एवं स्थानीय चन्दादाताको दान दातव्य, देउसी–भैलो कार्यक्रम लगायत विभिन्न सामुदायिक पहलमार्फत जग्गा व्यवस्थापन गर्न सफल भएको छ । यसैगरी बाणगंगा नगरपालिका, लुम्बिनी प्रदेश सरकार, संघीय सरकार तथा सिद्धार्थ सामाजिक विकास केन्द्र लगायतका सरकारी एवम् गैरसरकारी संस्थाको सहयोगमा विद्यालय भवन निर्माण गर्दै यसलाई भौतिक रूपमा सुविधासम्पन्न बनाइएको छ ।
सम्मान र संस्थागत पहिचान
प्रधानाध्यापक भट्टराईले आफ्नो कार्यकालमा बाणगंगा नगरपालिकाबाट दुई पटकसम्म उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मानित हुनुभएको छ भने प्रधानाध्यापक एशोसिएसनबाट पनि प्रदेशकै उत्कृष्ट प्रधानाध्यापकको सम्मान पाउनुभएको छ ।.त्यस्तै विद्यालय व्यवस्थापन समितिबाट तीन पटकसम्म सम्मानित हुनुभएको छ ।.अन्य विभिन्न संघसंस्था र निकायबाट पनि पटक पटक सम्मानित हुने अवसर प्राप्त गर्नुभएको छ। यी सम्मानहरूले उहाँको नेतृत्व क्षमता, इमान्दारिता र शैक्षिक योगदानलाई औपचारिक मान्यता दिएको विद्यालय परिवारको भनाइ छ ।
योगदानको उच्च मूल्याङ्कन र प्रतिबद्धता
स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा शिक्षाविद्हरूका अनुसार भट्टराईको दूरदर्शी सोंच, अनुशासन, पारदर्शी व्यवस्थापन र समुदायसँगको सहकार्यकै कारण सूयोदय आधारभूत विद्यालय आज उदाहरणीय विद्यालयका रूपमा स्थापित भएको हो। उहाँको अवकाससँगै विद्यालय परिवारले योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि उही शैक्षिक मूल्य, गुणस्तर र पहिचानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित : १७ पुस २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६