अर्थ-वाणिज्य

ठाकुरापुरमा ४ लाख ५० हजार लिटर क्षमताको खानेपानी टंकी निर्माण हुँदै



कपिलवस्तु, १७ पुस


वाणगंगा नगरपालिका–४ ठाकुरापुरमा ४ लाख ५० हजार लिटर पानी अट्ने क्षमताको खानेपानी टंकी निर्माण भइरहेको छ । वाणगंगा तथा गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, कपिलवस्तुको आयोजनामा टंकी निर्माणको काम अघि बढाइएको हो ।

गत मंसिर १ गतेदेखि सगुन कन्स्ट्रक्सनसँगको सहकार्यमा निर्माण कार्य सुरु गरिएको ठेकेदार सोनु पासीले जानकारी दिए । उनका अनुसार निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ र २०८३ मंसिरभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

ठूलो क्षमताको खानेपानी टंकी निर्माण भएपछि ठाकुरापुरसहित आसपासका बस्तीका नागरिकलाई शुद्ध खानेपानी आपूर्तिमा सहज हुने उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र विक्रम शाहले बताए । टंकी निर्माण सुरु भएसँगै स्थानीयवासीहरू उत्साहित र खुसी भएका छन् ।

“सफा पानी, सफा बानी—सहयोग पुर्‍याउने भूपू सैनिक खानेपानी” भन्ने नाराअनुरूप उक्त टंकी निर्माण भइरहेको समितिले जनाएको छ । भूपू सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था २०६५ सालमा स्थापना भएको हो ।

समितिले हालसम्म २ हजार ९ सय ७० वटा धारा जडान गरी ३ हजार ३६ घरधुरीका १९ हजार २ सय १७ जनालाई शुद्ध खानेपानी सेवा पुर्‍याउँदै आएको छ । संस्थालाई दीगो रूपमा सञ्चालन गर्दै समुदाय विकासको अभिन्न अंगका रूपमा स्थापित गर्ने लक्ष्यसहित योजनाहरू कार्यान्वयन भइरहेको समितिको भनाइ छ ।

समितिका उपाध्यक्ष झलकबहादुर मल्लका अनुसार उत्टहवा, जितपुर–४, शान्तिटोल, बैरिया, ठाकुरापुर, झुंगा, गजेहडा सिउटी र कर्महना लगायतका क्षेत्रमा पाइपलाइन विस्तार गरिएको छ ।

संस्थाका अध्यक्ष शाहले आगामी दिनमा वाणगंगा नगरपालिकाका सबै वडामा शुद्ध खानेपानी सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उपभोक्ताको स्वास्थ्यप्रति पूर्ण प्रतिबद्ध रहँदै स्थानीय स्रोत–साधनको परिचालन, सुशासन र समन्वयमार्फत संस्थालाई दीगो सामाजिक संस्थाका रूपमा विकास गरिएको सचिव कृष्णबहादुर शाहले बताए । संस्थाको आफ्नै सुविधा सम्पन्न पानी शुद्धीकरण प्रयोगशालासहितको भवन समेत रहेको छ ।

प्रकाशित : १७ पुस २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६