तौलिहवा , २२ पुस
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कपिलवस्तु जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।
मंगलबार सम्पन्न एमाले जिल्ला सचिवालयको १०औँ बैठकले उम्मेदवारहरूको नाम सिफारिस गर्ने निर्णय गरेको एमाले कपिलवस्तुले जनाएको छ ।
पार्टीका अनुसार कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–१ बाट विश्राम प्रसाद थारु चौधरीलाई एकल उम्मेदवारका रूपमा प्रदेश कमिटीमा सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नम्बर–२ बाट दीर्घनारायण पाण्डेको एकल नाम सिफारिस गरिएको छ ।
यस्तै निर्वाचन क्षेत्र नम्बर–३ बाट नेत्रराज अधिकारी, सिराज अहमद फारुकी, एकवाल हुसेन र मिना परियार गरी चार जनाको नाम सिफारिस गरिएको छ ।
सिफारिसमा परेका विश्राम प्रसाद थारु चौधरी संविधान सभा सदस्य तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रहनुभएको छ । दीर्घनारायण पाण्डे पूर्व लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्छ ।
निर्वाचन क्षेत्र नम्बर–३ बाट सिफारिस भएका नेत्रराज अधिकारी शिवराज नगरपालिकाका पूर्व नगर प्रमुख हुनुहुन्छ । सिराज अहमद फारुकी पूर्व समानुपातिक प्रतिनिधि सभा सदस्य रहनुभएको छ भने एकवाल हुसेन विगतमा सांसद तथा मन्त्री रहनुभएको थियो । मिना परियार राजनीतिक तथा सामाजिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएको छ ।
एमाले कपिलवस्तुका अनुसार उक्त बैठक जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा उपाध्यक्ष शंकर पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो भने जिल्ला सचिव सिवि गहतराजले बैठक सञ्चालन गर्नुभएको थियो ।








प्रतिक्रिया