गण्डकी, २५ पुस
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले देशबाट दक्ष जनशक्ति पलायन भइरहेको अवस्थामा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराद्वारा आज आयोजित ‘पछ्याणः तेस्रो संस्करण’ कार्यक्रमको उद्घाटनमा उहाँले दक्ष जनशक्ति विदेश पलायनको अवस्था भयावह हुँदै गएको बताउनुभयो । जनशक्ति पलायनको अवस्थालाई नियन्त्रणका लागि गतिलो आधार प्राविधिक शिक्षाको प्रभावकारी विकास नै भएको बताउँदै उहाँले हरेक युवाले विदेशिनुलाई गौरव मान्ने मानसिकतालाई तोड्दै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सक्षम युवा जनशक्ति तयार पार्न शैक्षिक संस्थाले गुणस्तरीय, व्यावहारिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । “विज्ञान तथा प्रविधिअन्तर्गतको इन्जिनियरिङ शिक्षाको महत्त्व विश्वभर नै उच्च छ । क्षमतावान प्राविधिकहरूको माग संसारमा बढिरहँदा हामीले प्राविधिक शिक्षालाई विश्वबजारमा प्रतिस्पर्धा गर्ने किसिमले स्तरवृद्धि गर्न आवश्यक पनि छ”, उहाँले भन्नुभयो । हरेक युवाले आफ्नो राष्ट्रप्रतिको दायित्वलाई मनन गर्दै समृद्ध नेपाल निर्माणका लागि अहोरात्र खटिनुपर्ने उहाँको भनाइ छ । देश र समाजलाई संस्कार र मर्यादासहित आधुनिक युगमा डोहोर्याउने युवा वर्गले नै भएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले युवाहरू जागृत हुन अपरिहार्य भएको बताउनुभयो । उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई आत्मनिर्भर बनाउनका लागि राज्यले उचित नीति र कार्यक्रम अवलम्बन गरी रोजगारी तथा अवसरको सृजना गर्न आवश्यक रहेको उहाँको भनाइ छ । ‘पछ्याणः संस्कृतिसँग, पहिचानसँग’ मूलमन्त्रका साथ नेपालका इन्जिनियरिङ कलेजहरु र प्रविधि क्षेत्रमा उत्साही युवा विद्यार्थीलाई सहभागी गराई झन्डै दुई सातासम्म विविध कार्यक्रम गरी सञ्चालन गरिएको आयोजकले जनाएको छ । सुदूरपश्चिमबाट अध्ययनका लागि पोखरा आएका विद्यार्थीहरू सङ्गठित भएर सन् १९९७ मा यो समाज स्थापना गरेको कार्यक्रममा जानकारी गराइयो ।








प्रतिक्रिया