काठमाडौँ, २६ पुस
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । ललितपुरमा आज बसेको बैठकमा ११औँ राष्ट्रिय महाधिवेशनमा भएको खर्च विवरण सार्वजनिक गरिएको हो । बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशन र ११औँ राष्ट्रिय महाधिवेशनले पार्टी विधानमा गरेको संशोधनमा आधारित रहेर पार्टी नियमावलीमा आवश्यक संशोधन र केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयको अनुमोदन गर्दै सम्पन्न भएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले बैठकमा ११औँ राष्ट्रिय महाधिवेशनमा भएको खर्च विवरणअनुसार करिब रु आठ करोड खर्च भएको बताउनुभयो । यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण गर्नुभयो । बैठकमा भयरहित वातावरणमा निर्वाचन गराउन ध्यानाकर्षण गराइएको प्रचार विभाग प्रमुख शाहीले बताउनुभयो । पार्टीले संसद् पुनःस्थापनाको एजेन्डा र निर्वाचनलाई सँगसँगै लैजाने निर्णय गरेकोसमेत उहाँले जानकारी दिनुभयो । “निर्वाचनको प्रभावकारी वातावरण अझै बनिनसकेको हुनाले संसद् पुनःस्थापना र निर्वाचनको एजेन्डालाई सँगसँगै लिएर जाने निर्णय भएको छ”, उहाँले भन्नुभयो । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले महाधिवेशनले ३१ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्याएको बताउँदै ३४ प्रतिशत नेता ५० वर्षभन्दा कम उमेरका रहेका जानकारी दिनुभयो । बैठक तीन दिनसम्म सञ्चालन गर्ने भनिए पनि निर्वाचनको तयारी गर्नुपर्ने भएकाले आज मात्र बसेको हो । —








प्रतिक्रिया