कपिलवस्तु, ९ माघ
नेकपा (एमाले) को तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का जनप्रिय उम्मेदवार तथा संविधानसभा सदस्य विश्राम प्रसाद चौधरी (थारु) ले आफ्नै स्थायी बसोबास रहेको बाणगंगा नगरपालिका वडा नं. ६ अमौलीबाट निर्वाचन केन्द्रित गतिविधिको शुभारम्भ गर्नुभएको छ।

स्थानीय समुदायसँग सरसल्लाह गर्दै र जनआशीर्वाद ग्रहण गर्दै उम्मेदवार चौधरीले चुनावी अभियानलाई अगाडि बढाउनु भएको हो। आफ्नै जन्म भूमिबाट सुरु गरिएको यो अभियानले जनतासँगको आत्मीय सम्बन्ध र विश्वासलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु प्रसाद पन्थी समेत सहभागी भई जनतासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नुभएको थियो। संयुक्त रूपमा गरिएको यस भेटघाटले स्थानीय विकास, जनस्वास्थ्य, शिक्षा तथा समग्र समृद्धिका विषयमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीहरूले बताएका छन्।

उम्मेदवार चौधरीले बिहीबार मात्र निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने बाणगंगा नगरपालिका वडा नं. ६ अमौली, वडा नं. २ पिपरा तथा मायादेवी गाउँपालिका वडा नं. १ का नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्नुभएको हो। भेटघाटका क्रममा स्थानीयले आफ्ना समस्या, अपेक्षा र सुझावहरू खुलेर राखेका थिए।
जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै अघि बढाइएको यो अभियानले आगामी निर्वाचनमा एमालेप्रतिको जनविश्वास अझ मजबुत बनाउने विश्वास लिइएको छ।








प्रतिक्रिया