कपिलवस्तु , बाणगंगा १२ माघ
कपिलवस्तु जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका मोहन आचार्य कानून निर्माण र नीतिगत सुधारका क्षेत्रमा अनुभवी युवा व्यक्तित्वका रूपमा परिचित छन्।
कानून विज्ञका रूपमा लामो समयदेखि सक्रिय आचार्यले न्याय प्रणाली, संविधान कार्यान्वयन र नागरिक अधिकारका विषयमा निरन्तर योगदान दिँदै आएका छन्। विशेषतः कानून निर्माण प्रक्रियामा अनुभव हासिल गरेका आचार्यलाई युवा पुस्ताको प्रतिनिधि, नीतिगत स्पष्टता र सुशासनको पक्षधर नेताका रूपमा हेरिँदै आएको छ।
उम्मेदवारी सार्वजनिक गर्दै आचार्यले नागरिक प्रति आभार व्यक्त गर्दै चुनावी व्यस्तताका कारण व्यक्तिगत सम्पर्क र टेलिफोन तथा सन्देशहरूमा समयमा जवाफ दिन नसके पनि अवसर मिल्ने बित्तिकै प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
आचार्यका अनुसार, कपिलवस्तु–१ को समग्र विकास, विधिको शासन, पारदर्शी नीति निर्माण र जनउत्तरदायी संसद उनका मुख्य प्राथमिकता हुन्। “कानून जनताको जीवन सहज बनाउने माध्यम हुनुपर्छ,” भन्ने उनको धारणा रहेको छ।
राजनीतिमा नयाँ सोच, पेशागत दक्षता र स्पष्ट दृष्टिकोण बोकेर मैदानमा उत्रिएका मोहन आचार्यलाई परिवर्तन चाहने मतदाताहरूको आशाको केन्द्रका रूपमा हेरिन थालेको छ।








प्रतिक्रिया