कपिलवस्तु, ८ फाल्गुण
सुकुम्बासी समस्या समाधानमा राज्य पक्षबाट अपेक्षित पहल नभएको भन्दै एमाले निकट भूमि अधिकार तथा श्रमिक मञ्चका अगुवाहरूले गुनासो व्यक्त गरेका छन्। शुक्रबार सम्पन्न अगुवा भेलामा बोल्दै उनीहरूले कर्मचारीतन्त्रले समयमै काम नगर्दा समस्या जटिल बन्दै गएको बताए।
अगुवाहरूका अनुसार २०४८ सालदेखि जोतभोग गर्दै आएको जग्गाको लालपुर्जा अहिलेसम्म प्राप्त हुन नसक्नु दुःखद अवस्था हो। “जनताका कुरा लागू भएनन्, मिहिनेतको फल पाएनौं,” उनीहरूको भनाइ थियो। सुकुम्बासीहरूलाई आफ्ना हक अधिकारका लागि बारम्बार आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुखद भएको उनीहरूले उल्लेख गरे।

कार्यक्रममा बोल्दै अगुवाहरूले गर्न सकिने काम मात्र जनतामाझ लैजानुपर्ने र पूरा गर्न नसकिने आश्वासन दिन नहुने धारणा राखे। सुकुम्बासीका समस्या यथाशीघ्र समाधान गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिइयो।
यद्यपि, कार्यक्रममा प्रमुख अतिथी एमाले नेता झविलाल पोख्रेलले सुकुम्बासीप्रति पार्टी सधैं जवाफदेही रहेको र आगामी दिनमा पनि सुकुम्बासीको पक्षमा दृढतापूर्वक उभिने स्पष्ट पारे। “सुकुम्बासी समस्या समाधान गर्ने पार्टी एमाले नै हो, हामी एमालेलाई साथ दिन्छौं,” अगुवाहरूले प्रतिबद्धता जनाए।
कार्यक्रममा मञ्जु चौधरी, कृष्ण घिमिरे, मान बहादुर भाटक्षेत्री, गंगा सुनार, पवित्रा नेपाली, बुद्धि पाण्डे, ज्ञान बहादुर पाण्डे, जनक थापा, भिम बहादुर बुढा थोकी, शिव चरण सिंह थारु, चिन्तामणी ढुगाना, पदम थापा, मान बहादुर आले, रामनारायण थारु लगायतका अगुवाहरूको उपस्थिति रहेको थियो।








प्रतिक्रिया