ब्रेकिंग न्युज

बागमती प्रादेशिक ललितकला प्रदर्शनी तथा सम्मेलन सुरु



काठमाडौँ, ८ फागुन

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशको आयोजनामा आजदेखि काठमाडौँमा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी तथा सम्मेलन २०८२’ सुरु भएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले प्रदर्शनीको उद्घाटन गर्नुभयो । उहाँले कला, संस्कृति कहिल्यै नमर्ने बताउँदै नेपालको पहिचान दिलाउन र अर्थतन्त्रमा कला क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले प्रतिष्ठानमा बन्दै गरेको कलाकार अरनिकोको मूर्ति तथा पाँचपोखरी थाङ्पालमा निर्माणाधीन ८४ फिट अग्लो बुद्धमूर्तिबारे चर्चा गर्दै यस विषयमा बागमती प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले समाजको ‘सफ्टपावर’ भनेको कलाकार भएकाले यसको सुरुआत ललितकलाले गरेको र कलाका विषयमा अहिले उपत्यका बाहिर पनि चर्चा–परिचर्चा बढेको बताउनुभयो । उहाँले आगामी दिनमा सामाजिक रूपान्तरणमा ललितकलाको अभियानलाई अझ सशक्त बनाउँदै नेपाली माटो चिनाउने कलाको विकास, खोज, अनुसन्धानका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै जानुपर्ने धारणा राख्नुभयो । प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रदेश समन्वय समिति संयोजक लालकाजी लामाले प्रादेशिक प्रदर्शनी सुरुआत गरेको प्रसङ्ग उल्लेख गर्दै प्रतिष्ठानले कलाको विकासका लागि जरामा गोडमेल गर्नुका साथै स्थानीय भूगोलमै जोडिएर काम गर्ने प्रयत्न गरेको बताउनुभयो । उहाँले ललितकलाको प्रवर्द्धन र विकासमा प्रतिष्ठानले सबैसँग सहकार्य गर्दै अघि बढेको बताउनुुभयो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले स्रष्टा युगको द्रष्टासमेत भएको बताउँदै आगामी दिनको ललितकला इतिहास लेख्ने अहिलेको पुस्ता भएको बताउनुभयो । संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेशका सचिव दीपेन्द्र सुवेदीले देशको पहिचान नै कला–संस्कृतिसँग जोडिएको बताउनुभयो । उहाँले बागमती प्रदेश प्रज्ञा–प्रतिष्ठान गठनको कानुनी पाटोको काम भइरहेको बताउँदै यसले छिट्टै सार्थकता पाउने जानकारी गराउनुभयो । सुवेदीले कला अमूल्य हुने भएकाले यसको सम्मान गर्नुपर्ने धारणा राख्नुभयो । समारोहमा सिद्धिरत्न शाक्य (परम्परागत मूर्तिकला), रामसुन्दर ख्याजु (परम्परागत चित्रकला पौभा), सरिता चित्रकार (लोककला), विश्वम्भर लामिछाने (मूर्तिकला), सिन्धुली कला घर (सिन्धुली), वल्र्ड आर्टलिङ्क (रत्ननगर, चितवन), ई आर्टस् नेपाल (ललितपुर)लाई सम्मान गरिएको थियो । प्रदर्शनीको ‘क्युरेटिङ’ प्राज्ञसभा सदस्य सुन्दर सिंखवालको संयोजनमा सविना तामाङ तथा रजनी सिंखवालले गर्नुभएको थियो । प्रदर्शनीमा बागमती प्रदेशका कलाकारले सृजना गर्नुभएका परम्परागत चित्रकला, समसामयिक चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, बहुआयामिक तथा अन्य सृजनात्मक कला विधाका २३० भन्दा बढी कलाकृति राखिएका छन् । नेपाल पर्यटन बोर्ड कला प्रवर्द्धक रहेको प्रदर्शनी यही फागुन १२ गतेसम्म सञ्चान हुनेछ ।

प्रकाशित : ८ फाल्गुन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६