कपिलवस्तु, १० फाल्गुण
प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत कपिलवस्तु क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेद्वार विश्राम प्रसाद थारु (चौधरी) ले मायादेवी गाउँपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम सञ्चालन गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ।
घरदैलोका क्रममा उहाँले जनताका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुका साथै दीर्घकालीन समाधानका लागि आफूले स्पष्ट योजना सहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उम्मेदवार चौधरीले किसानको समृद्धिसंगै देशको प्रगति संभव रहेको धारणा राख्नु भयो । चौधरीले “राजमार्गदेखि गाउँसम्म दुई लेन सडक, जगदिशपुर जलाशयबाट सिँचाइ विस्तार, कृषि एम्बुलेन्स सेवा, स्वास्थ्य र शिक्षामा सुधार हाम्रो प्राथमिकता हो,” उहाँले बताउनुभयो।

उम्मेद्वार थारुले “सिपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माण गर्ने मूल उद्घोषसहित युवालाई स्वदेशमै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, साना तथा लघुउद्यम प्रवद्र्धन र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिवद्धता दोहो¥याउनुभयो। उहाँले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान, सुरक्षित आवास, स्वच्छ खानेपानी र आधारभूत सेवाको विस्तारमा विशेष पहल गर्ने उल्लेख गर्नुभयो।

मायादेवी गाउँपालिकाका स्थानीयवासीहरूले सडक स्तरोन्नति, सिँचाइ व्यवस्थापन, स्वास्थ्य सेवा पहुँच र रोजगारी सिर्जनालाई प्रमुख चासोको विषयका रूपमा उठाएका थिए। त्यसको जवाफमा उम्मेद्वार थारुले संविधान र कानुनको दायराभित्र रहेर पारदर्शी, उत्तरदायी र जनमुखी ढंगले काम गर्ने विश्वास दिलाउनुभयो।
घरदैलो कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा खिचिएका तस्वीरहरूमा उम्मेदवार थारु घरघरमा पुगेर ज्येष्ठ नागरिक, महिला तथा युवाहरूसँग अन्तरक्रिया गर्दै देखिन्छन्।
उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी विजयी गराउन मायादेवी गाउँपालिकावासीसँग अपिल गर्नुभएको छ।








प्रतिक्रिया