गुल्मी
नेपालका युवा चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (ACCA) विद्यार्थी रामु भण्डारीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट सफलता हासिल गर्दै देशको नाम उज्यालो बनाएका छन्। निरन्तर मेहनत, आत्मविश्वास र पूर्ण रूपमा आत्मअध्ययन (Self-Study) मार्फत उनले एकपछि अर्को कीर्तिमान कायम गरेका छन्।
सन् २०२४ मार्च सत्रमा उनले Financial Management विषयमा नेपाल प्रथम तथा विश्व छैटौं स्थान हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गरे। त्यस्तै, सन् २०२४ जुनमा Audit & Assurance मा नेपाल प्रथम स्थान प्राप्त गर्न सफल भए।

उनको सफलताको यात्रा यत्तिमै सीमित रहेन। सन् २०२५ मार्चमा उनले Advanced Audit & Assurance मा पुनः नेपाल प्रथम स्थान हासिल गरे भने, सन् २०२५ जुनमा Advanced Financial Management मा नेपाल प्रथम तथा विश्व छैटौं स्थान प्राप्त गर्दै पुनः अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्टता प्रमाणित गरे।
यति मात्र होइन, उनले ACCA Affiliation मा पनि नेपाल प्रथम (Top Affiliate) स्थान हासिल गरेका छन्, जुन अत्यन्तै गौरवपूर्ण उपलब्धि हो।सबैभन्दा विशेष कुरा के हो भने, यी सम्पूर्ण उपलब्धिहरू उनले कुनै ट्युटर वा औपचारिक कक्षाको सहयोगबिना पूर्ण रूपमा आत्मअध्ययन मार्फत हासिल गरेका हुन्। सीमित स्रोतसाधनका बाबजुद अनुशासन, निरन्तर अभ्यास र स्पष्ट लक्ष्यका साथ अघि बढ्दा असम्भव भन्ने केही नरहेको उनको सफलताले प्रमाणित गरेको छ।
उनको यो उपलब्धिले केवल उनको व्यक्तिगत सफलता मात्र होइन, सम्पूर्ण नेपाली युवाका लागि प्रेरणाको स्रोत बनेको छ। परिश्रम, धैर्यता र दृढ संकल्प भए विश्वस्तरमा पनि नेपाली युवाले प्रतिस्पर्धा गर्न सक्छन् भन्ने सन्देश उनले दिएका छन्।








प्रतिक्रिया