ब्रेकिंग न्युज

कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा



पाटन (ललितपुर), २३ माघ

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हरेक कालखण्डमा कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा आज यहाँ आयोजित निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई वर्षअगावै निर्वाचन हुन गइरहेकाले देशको हितमा समन्वय र सहकार्य गर्ने काम नेपाली कांग्रेसले गर्न सक्ने बताउनुभयो । “समाजलाई गाँस्न सक्ने समावेशी राजनीति बिपी कोइरालाले गर्नुभएको थियोे, गिरिजाप्रसाद कोइरालाले द्वन्द्वको निवारण गर्दै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियोे,” उहाँले भन्नुभयो, “कांग्रेस जिम्मेवार राजनीतिक दल भएकाले विगतमा भएको कमजोरी सुधार गर्दै गालीको राजनीति बन्द गरी बदलिएको परिवेशअनुसार समृद्धि र समुन्नतिको लक्ष्यमा अगाडि बढ्ने छ ।” उहाँले जेनजी आन्दोलनको अपेक्षालाई सम्बोधन गर्दै मानिस–मानिसबीचको विश्वास कायम गर्न र देशको परिस्थितिलाई मूल्याङ्कन गर्दै नेपाली समाजलाई गाँस्न सक्ने नेतृत्व नेपाली कांग्रेससँग भएको उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका अग्रज नेता एवं केन्द्रीय सदस्य ओमकारप्रसाद श्रेष्ठले आफूले ७० वर्ष योगदान गरेको नेपाली कांग्रेसले समयको मागअनुसार आवाजलाई सम्बोधन गर्ने बताउँदै आठ लाखभन्दा बढीको सङ्ख्यामा रहेका क्रियाशील सदस्यहरुले नेपाली कांग्रेसको नीतिअनुसार देशलाई अगाडि बढाउन आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ का उम्मेदवार उदयशम्शेर राणाले जेनजी आन्दोलनले नेपालीहरूको सोचाइमा परिवर्तन ल्याएकाले त्यही सोचअनुसार नेपाली कांग्रेस पनि बदलिएको बताउनुभयो । अब देशको आर्थिक, सामाजिक रुपान्तरण, आमनागरिकको जनजीविकामा सुधार ल्याउँदै आर्थिक समृद्धि हासिल गर्न, सुशासन कायम गर्न पार्टीले बहुमत हासिल गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट क्षेत्र नं २ का उम्मेदवार प्रेमकृष्ण महर्जनले नेपाली कांग्रेसको नेतृत्व र कार्यशैली बदलिएको बताउँदै देशको परिवर्तनका लागि जिम्मेवारीबोध गर्दै एकताबद्ध भएर २०४८, २०५६ र २०७० सालमा जस्तै बहुमत हासिल गर्न क्रियाशील भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित : २४ माघ २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६