काठमाडौँ, २८ माघ
राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा बोल्दै सांसदहरूले आगामी फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा सम्भावित सुरक्षा चुनौतीप्रति गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो । सांसद कृष्णबहादुर रोकायाले सुरक्षाकर्मीमाथि भएका आक्रमणका घटनाले निर्वाचनको सुरक्षा व्यवस्थापन र प्रहरीको मनोबलमा नकारात्मक असर पर्नसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । सांसद पदमबहादुर परियार र विष्णुदेवी पुडासैनीले मतदाताले ढुक्क र शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभयो । सांसद परियारले गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को निर्वाचनमा सरकारको भूमिकाबारे प्रश्न उठाउनुभयो । सांसद घनश्याम रिजालले निर्वाचन नजिकिँदै जाँदा बजारमा कृत्रिम अभाव र कालोबजारी बढेको उल्लेख गर्दै प्रभावकारी बजार अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । शून्य समयमा बोल्दै सांसदहरूले तामाकोसी बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । मृतकका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन सभामुखमार्फत सरकारसँग माग राख्दै उहाँहरूले घाइतेहरूको उपचारका लागि आवश्यक सबै प्रकारका सहयोग सुनिश्चित गर्न पनि ध्यानाकर्षण गराउनुभयो । सांसद रेणु चन्द र श्रीकृष्णप्रसाद अधिकारीले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर हुनुपर्ने बताउँदै सुरक्षित सडक यात्राका लागि सरोकारवाला सबै पक्षको सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो ।








प्रतिक्रिया