ब्रेकिंग न्युज

‘अब आश्वासन होइन, विकास र रोजगारीको आधार चाहियो’



अत्तरिया (कैलाली), ३ फागुन

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन निजिकिएसँगै गाउँबस्ती तथा सहरमा चुनावी सरगर्मी बढ्दै गएको छ । यतिबेला उम्मेदवारहरू आफ्ना चुनावी एजेन्डा तथा प्रतिबद्धतापत्र लिएर मतदाताका घरदैलो धाइरहेका छन् । दल तथा उम्मेदवारहरू विभिन्न माध्यमबाट मतदाता रिझाउने प्रयास गरिरहेका छन् । उम्मेदवारहरूबाट पटकपटक आश्वासन मात्रै पाएका मतदाता भने यस पटकको निर्वाचनमा आश्वासन नभई विकास र रोजगारीको आधार खोजिरहेका छन् । जिल्ला धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘बी’ गाउँकी जाना रोकाया गाउँको विकास गर्ने आधार लिएर आउनेलाई मात्र मत दिने बताउनुहहुन्छ । विगतमा जस्तो चुनावका बेला जे पनि गरिदिन्छौँ भनेर आश्वासन दिने तर पछि पूरा नगर्ने र त्यसका लागि दबाब नदिने उम्मेदवारलाई मत नदिने उहाँको भनाइ छ । रोकायाले भन्नुभयो,“हाम्रो गाउँको सबैभन्दा ठूलो समस्या खानेपानीको हो । कच्ची सडक हुनाले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छ । चुनावको समयमा नेताहरूले यीलगायत समस्या समाधान गर्ने बाचा गर्छन्, विगतमा पनि यस्तै आश्वासन पाइन्थ्यो । समस्या यथावत छन्, त्यसैले यसपटक समाधानको आधार खोजी गरिरहेका छौँ ।” सोही ठाउँकी विनमति थापाको पनि उस्तै गुनासो छ । उहाँ भन्नुहुन्छ,“यहाँ हामीले सोचेअनुसार विकास भएन । रोजगारी नहुँदा छोराछोरी विदेशिनुपरेको छ । त्यसैले अब हामीलाई यी समस्या समाधान गर्ने नेता चाहिएको छ ।” चुरे गाउँपालिका–४ जगातीकी बविता विकले गाउँका आधारभूत समस्या समाधान गर्ने नेतालाई जिताउनुपर्ने बताउनुभयो । उहाँले गाउँमा खानेपानी, पुलपुलेसा, सडक, स्थानीय उत्पादन वृद्धि र बजारीकरणलगायत समस्या रहेकाले समाधानका लागि आफ्नो प्रतिनिधिले विश्वासयोग्य बाचा गर्नुपर्ने धारणा राख्नुभयो । विकले भन्नुभयो,“चुनावका बेला गाउँ, टोल, घरघरमा आएर नेताहरुले अनेक बाचा गर्छन्, चुनावपछि बिर्सिन्छन् । रोजगारी नहुँदा युवाहरू अर्काको देशमा सस्तोमा श्रम गर्न बाध्य छन् । हामीलाई विकाससँगै रोजगारी र हाम्रा कृषिउपजको उत्पादन वृद्धि तथा बजारीकरण गरी गरिखान सघाउने सरकार र प्रतिनिधि चाहिएको छ ।”

प्रकाशित : ३ फाल्गुन २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६