कपिलवस्तु, १७ फाल्गुण
प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत कपिलवस्तु क्षेत्र नं. १ मा चुनावी माहोल तातिँदै जाँदा बाणगंगा नगरपालिकाका विभिन्न वडामा घरदैलो अभियान तीव्र पारिएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार विश्राम प्रसाद थारु (चौधरी) ले नगरका सबै वडामा सक्रिय रूपमा मतदाता भेटघाट कार्यक्रमलाई गति दिनुभएको छ।
यसैक्रममा वडा नं. १० अन्तर्गत पटना लगायतका गाउँबस्तीमा पुगेर उहाँले घरदैलो कार्यक्रम सञ्चालन गर्नुभएको हो। घरदैलोका क्रममा उहाँले स्थानीय बासिन्दाका गुनासा, सुझाव तथा अपेक्षाहरू ध्यानपूर्वक सुन्नुका साथै दीर्घकालीन समाधानका लागि स्पष्ट योजना सहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उम्मेदवार चौधरीले कृषकको समृद्धिबिना देशको समग्र विकास सम्भव नहुने धारणा राख्दै सिँचाइ समस्यालाई प्राथमिकतामा राख्ने बताउनुभयो। “रोजगारी सिर्जनाका लागि आधारभूत आवश्यकताहरू पूरा गर्नुपर्छ,” उहाँले भन्नुभयो, “कृषकका मुख्य समस्यामध्ये रहेको सिँचाइ समस्या समाधानमा विशेष पहल गरिनेछ।”

त्यस्तै, सडक स्तरोन्नति, स्वास्थ्य सेवा सुदृढीकरण र शिक्षामा गुणस्तरीय सुधार आफ्नो मुख्य प्राथमिकता रहेको उहाँले उल्लेख गर्नुभयो। “सिपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माण गर्ने मूल उद्घोषसहित युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, कृषि आधुनिकीकरण, साना तथा लघु उद्यम प्रवर्द्धन तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पनि उहाँले दोहोर्याउनुभयो।
यसैगरी भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान, सुरक्षित आवासको व्यवस्था, स्वच्छ खानेपानी र आधारभूत सेवाको विस्तारमा विशेष पहल गरिने उहाँको भनाइ थियो।

घरदैलो अभियानमा स्थानीय जनताको उल्लेखनीय सहभागिता देखिएको छ भने एमालेको पक्षमा जनलहर बढ्दै गएको दाबी गरिएको छ।
I








प्रतिक्रिया