ब्रेकिंग न्युज

हाल सम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक



काठमाडौँ, २३ फागुन

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मुलुकभर जारी छ । निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दासम्म विभिन्न ८३ वटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६७, नेपाली कांग्रेस नौ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीन, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक÷एक जना विजयी हुनुभएको छ । यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् । रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित डा लेखजङ्ग थापा ५० हजार ३७९ मतान्तरले विजयी हुनुभएको छ । उहाँले ५८ हजार ८१४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङ्गले आठ हजार ४३५ मत प्राप्त गर्नुभयो । रुपन्देही क्षेत्र नं २ बाट रास्वपाका सुलभ खरेल ४३ हजार ६८९ मतान्तरले विजयी हुुनुभएको छ । खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गर्नुभएको छ । मोरङ निर्वाचन क्षेत्र नं ६ बाट रास्वपाका उम्मेदवार रुविना आचार्य ५५ हजार ५१३ मतसहित विजयी हुनुभएको छ । उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा शेखर कोइराला १२ हजार ८५० मतसहित दोस्रो स्थानमा सीमित हुनुभयो । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट रास्वपाका उम्मेदवार सन्तोष राजवंशी ४० हजार ८३३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुरुराज घिमिरेले १२ हजार ८१८ मत मात्र प्राप्त गर्नुभयो । उच्च मतान्तरले विजयी हुने उम्मेदवारमा धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट रास्वपाका मनिष झा ४३ हजार ९८८ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र नीतिले १६ हजार ६५२ मत प्राप्त गर्नुभयो । महोत्तरी क्षेत्र नं १ बाट रास्वपाका प्रमोदकुमार महतो ३४ हजार ६३६ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका गिरिराजमणी पोखरेलले १२ हजार ६२४ मत प्राप्त गर्नुभयो । बारा क्षेत्र नं ३ मा रास्वपाका अरबिन्द साह ३० हजार ६४५ मतान्तरले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गर्नुभएको छ । बारा निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका रहवर अंसारी ४१ हजार २०० मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गर्नुभयो । जुन २९ हजार ५६१ को मतान्तर हो । पर्सा निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त २७ हजार २७४ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवले १३ हजार ३० मत प्राप्त गर्नुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार रञ्जु न्यौपाने १५ हजार ४५५ मतसहित विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीले छ हजार ३६४ मत ल्याउँदा नौ हजार ९१ मतान्तरसहित न्यौपाने विजयी हुनुभएको हो । काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सुनिल केसी ३४ हजार २३८ मतसहित विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गर्नुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ सात हजार ५८५ मतान्तरले पछि पर्दै ११ हजार १७१ मत प्राप्त गर्नुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका पुकार बम २९ हजार १४२ मतसहित विजयी हुनुभएको छ । उहाँ २० हजार ३१८ मतान्तरसहित विजयी हुनुभयो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिव तिमल्सेनाको आठ हजार ८२४ मत छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका सस्मित पोखरेल ३० हजार ७३७ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार १५९ मत प्राप्त गर्नुभयो । त्यस्तै निर्वाचन क्षेत्र नं ७ मा रास्वपाका उम्मेदवार गणेश पराजुली २७ हजार ८०५ मतसहित विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंको भन्दा २३ हजार ८२३ मत बढी प्राप्त गर्नुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले तीन हजार २१७ मत प्राप्त गर्नुभयो । निर्वाचन क्षेत्र नं ९ मा रास्वपाका डोलप्रसाद अर्याल ३५ हजार ९३ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले पाँच हजार ४६० मत प्राप्त गर्नुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा रास्वपाका उम्मेदवार प्रदिप विष्ट ३७ हजार ४६९ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्कीको भन्दा विष्टको मत २९ हजार ४६९ ले बढी हो । कार्कीले आठ हजार १०० मत प्राप्त गर्नुभएको छ । भक्तपुर निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार रुकेश रञ्जित ३३ हजार ४३६ मतसहित विजयी हुनुभएको छ । उहाँ पाँच हजार २८९ मतान्तरले विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालको २८ हजार १४७ मत रहेको छ । ललितपुर निर्वाचन क्षेत्र नं १ मा रास्वपाका बुद्ध रत्न महर्जन २३ हजार ३७३ मतसहित विजयी हुनुभएको छ । महर्जन नौ हजार ८५३ मतान्तरसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उदयशम्शेर राणाले १३ हजार ५२० मत प्राप्त गर्नुभयो । चितवन निर्वाचन क्षेत्र नं २ मा रास्वपाका सभापति रवि लामिछाने ५४ हजार ४०२ मतसहित विजयी हुनुभएको छ । उहाँ ३९ हजार ८३८ मतान्तरसहित विजयी हुनुभएको हो । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मिनाकुमारी खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभएको छ । यसरी निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश प्रतिनिधि ठूलो मतान्तरले विजयी भएका छन् । नेपाली कांग्रेस तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेस का उम्मेदवार सन्तोष सुब्वा ११ हजार ५६१ मतसहित विजयी हुनुभएको छ । उहाँ ८७९ मतान्तरसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का भानुभक्त ढकालले १० हजार ६८२ मत प्राप्त गर्नुभएको छ । मनाङ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ दुई हजार ४१५ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार यशोदा गुरुङ (सुवेदी) ले ४५४ मत प्राप्त गर्नुभयो । त्यस्तै, मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का इन्द्रधारा विष्टले एक हजार ८०६ मत प्राप्त गर्नुभयो । दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार वासना थापा १२ हजार ३७२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गर्नुभएको हो । डोटी निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का १४ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गर्नुभयो । त्यस्तै, अछामको निर्वाचन क्षेत्र नं १ बाट १० हजार ७५९ मतसहित भरतकुमार स्वाँर, सुर्खेतको क्षेत्र नं १ बाट २६ हजार ८९७ मतसहित विष्णुबहादुर खड्का, जाजरकोटको क्षेत्र नं १ बाट २० हजार १४२ मतसहित खड्कबहादुर बुढा र कपिलवस्तुको निर्वाचन क्षेत्र नं ३ बाट २३ हजार ५३५ मतसहित अभिषेक प्रताप शाह निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँके निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार मोहम्मद इश्तियाक राई २४ हजार ६२८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्की रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६८२ मत प्राप्त गर्नुभयो । बझाङ निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) का उम्मेदवार ऐनबहादुर महर १८ हजार ५४३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत ल्याउनुभयो । दैलेख क्षेत्र नं २ बाट लक्ष्मीप्रसाद पोखरेल १३ हजार ८८९ मतसहित निर्वाचित हुनुभएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रुकुम (पूर्वी भाग) निर्वाचन क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल १० हजार २४० मतसहित विजयी हुनुभएको छ । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले तीन हजार ४६२ मा प्राप्त गर्नुभयो । त्यस्तै, रोल्पाको निर्वाचन क्षेत्र नं १ बाट वर्षमान पुन २७ हजार ४६० मतसहित निर्वाचित हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी हुनुभएको छ । शाही नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीसँग तीन हजार १८१ मतान्तरसहित निर्वाचित हुनुभएको हो । स्वतन्त्र उम्मेदवार म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन २२ हजार ८५० महतसहित विजयी हुनुभएको छ । उक्त निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार हरीकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले समान छ हजार ६७६ मत प्राप्त गर्नुभयो । पुन १४ हजार ९३१ मतान्तरसहित विजयी हुनुभएको हो । —

Powered By  Orson Infotech

प्रकाशित : २३ फाल्गुन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६