
कुलराज भुसाल
कपिलवस्तु, ३० फागुन
बाणगंगा नगरपालिका–८ चप्परगाउँमा अवस्थित सूर्योदय आधारभूत विद्यालयले सेवानिवृत्त प्रधानाध्यापक धर्मराज भट्टराईलाई भव्य समारोहका बीच सम्मान तथा विदाई गरेको छ ।
३८ वर्षसम्म निरन्तर विद्यालयमा सेवा गरी सेवानिवृत्त हुनुभएका प्रधानाध्यापक भट्टराईलाई शुक्रबार विद्यालय परिसरमा एक भव्य समारोह आयोजना गरी सम्मान तथा विदाई गरिएको हो । वि.सं. २०४४ साल पुस २६ गतेदेखि विद्यालयको नेतृत्व सम्हालेर गत मङ्सिर १७ गते अनिवार्य अवकाश हुनुभएका भट्टराईलाई पञ्चेबाजासहित विद्यालय परिसरबाट चप्परगाउँ परिक्रमा गराउँदै उहाँकै निवास मोतीपुरसम्म पु¥याएर सम्मानपूर्वक विदाई गरिएको थियो ।
भट्टराईको सम्मानमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघ पदाधिकारी, विद्यालयका पूर्व अध्यक्ष तथा सदस्यहरू, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी, अभिभावक, समाजसेवी, सञ्चारकर्मी तथा विद्यार्थीहरू उहाँको घरसम्मै पुगेर ससम्मान विदाई गरेको हुन ।
सम्मान तथा विदाई समारोहमा प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले भट्टराईले लामो समयसम्म शिक्षा क्षेत्रमा पु¥याउनुभएको योगदान प्रशंसनीय रहेको बताउँदै उहाँको नेतृत्व, अनुशासन र समर्पणले विद्यालयलाई नगरकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । नगर प्रमुख अर्यालले बाणगंगा नगरपालिकालाई गुणस्तरीय शिक्षाको हवको रुपमा स्थापित गर्न सूर्योदय स्कुल र यसको प्रशासनिक नेतृत्वकर्ता रुपमा धर्मराज भट्टराईको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले भट्टराईजस्ता अनुभवी र लगनशील शिक्षाकर्मीको योगदानले सामुदायिक विद्यालयको विकासमा ठुलो टेवा पुगेको बताउँदै उहाँको अनुभव र मार्गदर्शन आगामी दिनमा पनि समाजका लागि उपयोगी रहने विश्वास व्यक्त गर्नुभयो ।
वडा नम्बर ८ का वडाध्यक्ष बावुराम अर्यालले भट्टराईको कार्यकालमा विद्यालयले भौतिक तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै उहाँले शिक्षा र समुदायबीच सुमधुर सम्बन्ध स्थापित गर्न सफल भएको बताउनुभयो ।
नगर शिक्षाशाखा प्रमुख रोशन घिमिरेले भट्टराईको दूरदर्शी सोंच, इमान्दार नेतृत्व र शैक्षिक प्रतिबद्धताका कारण सूर्याेदय आधारभूत विद्यालय नगरकै उत्कृष्ट विद्यालयका रूपमा स्थापित भएको बताउनुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले भट्टराईको दूरदर्शी सोंच, समर्पण, अनुशासन, पारदर्शी व्यवस्थापन, सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसंगको प्रभावकारी समन्वय र समुदायसँगको सहकार्यकै कारण सूर्योदय आधारभूत विद्यालय आज उदाहरणीय विद्यालयका रूपमा स्थापित भएको उल्लेख गरेका थिए ।
दीर्घकालीन नेतृत्वका क्रममा उहाँले विद्यालयलाई शैक्षिक संस्थामात्र नभई समुदायको भरोसायोग्य शैक्षिक केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पु¥याउनुभएको सरोकारवालाहरूको भनाइ छ। सीमित जनशक्ति, जग्गा–जमिन तथा भौतिक पूर्वाधारको अभावका बाबजुद पनि विद्यालयलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै बाणगंगा नगरपालिकाभित्रकै उत्कृष्ट आधारभूत विद्यालयका रूपमा स्थापित गर्न उहाँ सफल हुनुभएको स्थानीयले बताएका छन्।
विद्यालयले प्रारम्भिक चरणदेखि नै जग्गाको अभाव झेल्दै आएको भए पनि स्थानीय सामुदायिक वनको सहयोग, स्थानीय दानदाताको सहयोग, देउसी–भैलो कार्यक्रम तथा सामुदायिक पहलमार्फत आवश्यक जग्गा व्यवस्थापन गर्न सफल भएको छ। त्यसैगरी बाणगंगा नगरपालिका, लुम्बिनी प्रदेश सरकार, संघीय सरकार तथा सिद्धार्थ सामाजिक विकास केन्द्र लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा विद्यालय भवन निर्माण गरी भौतिक पूर्वाधारलाई सुदृढ बनाइएको छ।
भट्टराईले आफ्नो कार्यकालमा बाणगंगा नगरपालिकाबाट दुई पटक उत्कृष्ट प्रधानाध्यापकको सम्मान प्राप्त गर्नुभएको छ। साथै प्रधानाध्यापक एशोसिएसनबाट प्रदेशकै उत्कृष्ट प्रधानाध्यापकको रूपमा सम्मानित हुनुभएको छ भने विद्यालय व्यवस्थापन समितिबाट तीन पटक सम्मानित हुनुभएको छ। विभिन्न संघ–संस्थाबाट समेत उहाँ पटक–पटक सम्मानित हुनुभएको विद्यालय जनाएको छ।
कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थी तथा अभिभावकहरू भट्टराईको विदाईमा निकै भावुक देखिन्थे। कार्यक्रममा अधिकांश शिक्षक, विद्यार्थी र अभिभावकहरूको आँखाबाट आँसु झरेको दृश्यले कार्यक्रममा उपस्थित सबैलाई निकै भावुक बनाएको थियो।
सोही कार्यक्रममा बाणगंगा नगरपालिका शिक्षा शाखाका पूर्व प्रमुख सेवानिवृत्त उपसचिव खिमबहादुर जिसी र विद्यालयका पूर्व शिक्षक खगेन्द्र पौडेललाईसमेत सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षता, निमित्त प्रधानाध्यापक रेशमलाल खनालको सञ्चालन र शिक्षिका कोपिला पन्थको स्वागतमा सम्पन्न भएको थियो ।
आयोजित सम्मान तथा विदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, शिक्षक तथा कर्मचारीहरू, शिक्षक–अभिभावक संघ पदाधिकारी तथा सदस्यहरु विद्यालयका पूर्व अध्यक्ष तथा सदस्यहरू, अभिभावक, छिमेकी विद्यालयका प्रधानाध्यापकहरु विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वि.सं. २०४४ साल पुस २ गते स्थानीय समुदायको सक्रिय पहलमा स्थापना भएको यस विद्यालयले २०४५ साल चैत २० गते नेपाल सरकारबाट औपचारिक स्वीकृति प्राप्त गरेको हो। हाल विद्यालयमा बालविकासदेखि कक्षा ८ सम्म नेपाली तथा अंग्रेजी माध्यमबाट अध्ययन–अध्यापन सञ्चालन हुँदै आएको छ। शैक्षिक गुणस्तर, व्यवस्थापन तथा भौतिक पूर्वाधारका दृष्टिले विद्यालय बाणगंगा नगरपालिकाकै उत्कृष्ट र भरोसायोग्य आधारभूत विद्यालयका रूपमा स्थापित हुन सफल भएको छ ।







प्रतिक्रिया