ब्रेकिंग न्युज

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’



भोजपुर, १ चैत

टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले घोषणा गरेको घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यभित्र परेको मुन्दुम पदमार्गको यात्राका क्रममा भेटिने यो पोखरी प्राकृतिक सौन्दर्यका कारण पर्यटकमाझ लोकप्रिय बन्दै गएको हो । समुद्री सतहबाट करिब दुई हजार ५०० मिटर उचाइमा रहेको यो पोखरी घाँसेमैदानको बीचमा अवस्थित छ । वरिपरि फैलिएको हरियाली, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ । बाह्रै महिना पानीले भरिएको रहने यस पोखरीको मनमोहक दृश्यले पदयात्रामा निस्कने पर्यटकलाई विशेष आनन्द दिने गर्छ । मुन्दुम पदमार्गमा पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि मलुवा पोखरी विश्रामस्थलका रूपमा पनि परिचित बन्दै गएको छ । पदमार्गको यात्रामा निस्केका पर्यटक यहाँ पुगेर केही समय विश्राम गर्ने, फोटो खिच्ने र प्राकृतिक दृश्यावलोकन गर्ने गर्दछन् । पर्यटकको आकर्षण बढाउन पोखरीमा माछाका भुरासमेत हालिएको छ । पोखरी वरिपरि फैलिएको घाँसेमैदान र सुन्दर वातावरणले यस क्षेत्रलाई अझ आकर्षक बनाएको छ । वसन्तयाममा वरिपरि फुल्ने गुराँस तथा अन्य वनस्पतिले यस क्षेत्रको सौन्दर्यलाई थप मनमोहक बनाउने गरेको स्थानीयवासी बताउँछन् । पर्यटन प्रवर्द्धनलाई ध्यानमा राख्दै गाउँपालिकाले पोखरी क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा ध्यान दिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार मुन्दुम पदमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढेसँगै यस क्षेत्रको महत्व पनि बढ्दै गएको छ । स्थानीय तहले पदमार्गको प्रचारप्रसारसँगै मलुवा पोखरी क्षेत्रलाई थप व्यवस्थित बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ । प्राकृतिक सुन्दरता, शान्त वातावरण र मुन्दुम पदमार्गसँगको सम्बन्धका कारण मलुवा पोखरी पछिल्लो समय जिल्लाको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

प्रकाशित : १ चैत्र २०८२, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६