ब्रेकिंग न्युज

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु



काठमाडौँ, ५ चैत

गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स ब्यानर’मा केही तस्बिरहरू झुन्डिएका छन् । ढोकाबाट भित्र पस्ने जो–कोहीको नजर सिधै तिनै भित्तामा ठाकिन्छन् । ती तस्बिरमा ४५ अनुहारहरू छन् । निर्जीव तस्बिर भए पनि तिनका आँखामा हेर्दा अधुरा सपना र परिवर्तनको आह्वान गरिरहेको आभाष हुन्छ । अनि जिज्ञाशा उब्जिन्छ—यी तस्बिर गृह मन्त्रालयको ढोकैमा किन ? एकछिन अडिएपछि यो प्रश्नको उत्तर भेटिन्छ । ती तस्बिर त तिनै योद्धाहरूका हुन्, जसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुशासन र परिवर्तनका आह्वान गर्दा जीवन अर्पण गरेका थिए । यहाँका अनुहारहरू केवल तस्बिर मात्रै होइनन्, यी त आशा, विद्रोह र बलिदानका साक्षी हुन् । भित्तामा टाँसिएका यी तस्बिरलाई नियाल्नुभयो भने अझै पनि ठूलो आवाजमा केही भनिरहेका जस्तो लाग्छ—हामीले दिएको बलिदानलाई बिर्सिनु त हुने छैन ! बाहिर हालैको जेनजी आन्दोलनमा सहिद भएकाहरू र भित्र गृहमन्त्री ओमप्रकाश अर्यालको टेबल अगाडि राष्ट्र निर्माता पृथ्वीनारायण शाह तस्बिर । यसले इतिहास र वर्तमान एउटै कोठामा भेटिएजस्तो लाग्छ । गृहमन्त्री अर्याल भन्नुहुन्छ,“यी दुवै तस्बिरले नेपालको इतिहास बोक्छन् । कार्यालयमा छिर्दै गर्दा जेनजी आन्दोलनका सहिदहरूका तस्बिरले सुशासनको आह्वान सम्झाउँछ, जसले हामीमाथि भरोसा गरेर आफ्नो जीवन अर्पण गरे । यस्तै, टेबल अगाडि राष्ट्र निर्माताको तस्बिरले पनि हामी यहाँ हुनुको अर्थबोध गराउँछ ।” बाहिर सडकमा जीवन सामान्यजस्तै चलिरहेको छ, तर देश भने परिवर्तनको नयाँ मोडमा उभिएको छ । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारले निर्वाचन सम्पन्न गरिसकेको छ । अब नयाँ सरकार बन्ने तयारी हुँदैछ, जसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने स्पष्ट जनमत छ । मन्त्री अर्याल हरेक पटक ती तस्बिरहरूतर्फ फर्केर हेर्दा अझै पनि आफूलाई हरेर केही जवाफ माग्दै गरेको र केही प्रतिबद्धता खोज्दै गरेको अनुभूति हुने गरेको बताउनुहुन्छ । “के हामीले उनीहरूको सपना पूरा गर्न सक्छौँ ? यो प्रश्न म आफैँलाई र अरु सबैलाई हो”, उहाँ भन्नुहुन्छ । यो प्रश्नको उत्तर सजिलो छैन, तर एउटा कुरा स्पष्ट छ—गृह मन्त्रालयको भित्तामा झुन्डिएका ती तस्बिरहरू केवल सम्झना होइनन्, चेतावनी पनि हुन् । ती तस्बिरमार्फत सहिदहरूले हरेक दिन सरकार र नागरिकलाई सम्झाइरहन्छन्—सुशासन केवल शब्दमा होइन, जिम्मेवारीमा झल्कनुपर्छ । जेनजी–जनआन्दोलनका क्रममा शहादत प्राप्त गरेका व्यक्तिहरूलाई सरकारले सहिद घोषणा गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ कात्तिक १७ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सहिद घोषणा गरेबमोजिम यहाँ गृह मन्त्रालयमा सुशासन योद्धा र अमर प्रहरीहरूको तस्बिरसहितको विवरण राखिएको छ । यसमा ४५ जना सहिदको तस्बिर, नाम ठेगानासहितको विवरण छ । मन्त्रालयको प्रवेशद्वार नजिकै सहिदको तस्बिर, गृहमन्त्रीको कार्यकक्षमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र उहाँका गुरु गोरखनाथको तस्बिर पनि छ । यसले पुर्खाप्रतिको सच्चा सम्मान, सहिदको स्मरण र गुरुप्रतिको सत्कार झल्केको छ । जेनजी योद्धा र अमर प्रहरीका तस्बिर गृह मन्त्रालय मात्रै हैन सिंहदरबारको दक्षिण प्रवेशद्वार तथा विभिन्न मन्त्रालय र देशभरका सिडिओ कार्यालयमा पनि राखिएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, विभिन्न सडक चोक र महत्त्वपूर्ण सार्वजनिक स्थानमा पनि यी तस्बिर राखिएका छन् । यो मुलुकमा भ्रष्टाचार नियन्त्रण, बेथितिको अन्त्यसहित परिवर्तनको मागसहित जेनजी युवाले गरेको बलिदानी र त्यस क्रममा सहादत प्राप्त गरेका राष्ट्रसेवक अमर प्रहरीको बलिदानीको चीरस्मरणका लागि राष्ट्रका तर्फबाट गरिएको सम्मान हो । जेनजी आन्दोलनपछि गठित नागरिक सरकारको प्रमुख कार्यभार फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु थियो, जुन कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भइसकेको छ । निर्वाचनपछि मुलुक नयाँ सरकार निर्माणको चरणमा प्रवेश गर्दैछ । निर्वाचनको सबै नतिजा आएसँगै राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारको सिट बाँडफाँड पनि मिलाएर निर्वाचन आयोगलाई बुझाइसकेका छन् । निर्वाचनबाट झण्डै दुई तिहाइ सांसदसहित रास्वपाले नयाँ सरकारको नेतृत्व गर्र्दैछ । गृहमन्त्री अर्याल गृह मन्त्रालयलगायत विभिन्न निकायमा राखिएका जेनजी योद्धा र अमर प्रहरीको तस्बिरले उनीहरूको बलिदानको उच्च कदर गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि सधैँ झक्झक्याइ रहने बताउनुहुन्छ । “जेनजी युवाहरूको ऐतिहासिक आन्दोलनले मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । निर्वाचन सम्पन्न भएर सुशासन र आर्थिक समृद्धिको यात्रा तय गर्ने आधार बनेको छ । अब यो प्रक्रिया र परिवर्तनको आकाङ्क्षाबाट अलमल गर्ने छुट कसैलाई छैन । जेनजीको भावनाअनुरुप देश विकास र सुशासनसहितको समृद्धिको यात्रामा अगाडि बढ्नुको विकल्प छैन । यो कुरा सहिदहरूका यी तस्बिरले हरेक दिन सम्झाइरहने छ”, उहाँ भन्नुहुन्छ । जेनजी आन्दोलनको रापमा देशमा ७६ जनाको मृत्यु भयो । सयौँ घाइते भए । त्यसको केही दिनपछि अर्थात् नागरिक सरकार बन्यो । विसं २०८२ असोज ३० गते अर्यालले गृहमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । यसबीचमा जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग सरकारले १० बुँदे सम्झौता गरेको थियो । अब त्यो सम्झौता कार्यान्वयन गर्ने जिम्मेवारी पनि नयाँ सरकारको काँधमा आउँदैछ । त्यसमा जेनजी पुस्ताले मागेका सुशासन, पारदर्शी राज्य प्रणाली र भ्रष्टाचारको अन्त्य गर्दै देश निर्माणका आकाङ्क्षा जोडिएका छन् । गृहमन्त्री अर्यालले नागरिक सरकारले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर नयाँ मानकहरू स्थापित गरेको बताउनुभयो । “निर्वाचनमार्फत राजनीतिक सुशासनको नयाँ मानक स्थापित गरका छौँ । आगामी सरकारले यी मानकहरूका साथै नवयुवाको चाहनाअनुसार अरु थुप्रै दायित्व निर्वाह गर्नुपर्नेछ । त्यसमा सबैको सकारात्मक पहलकदमी रहनुपर्छ”, उहाँको भनाइ छ,“यो बीचमा थुप्रै चुनौती थिए, तर हामी सुबैको प्रयास र संयमले कानुनी राज्यको बहाली गरी संविधानमा पुगेको क्षतिलाई निर्वाचनमार्फत परिपूरण गरेका छौँ । विगतको निर्वाचनभन्दा गुणस्तरीय निर्वाचन गरेर सहज रूपमा सत्ता हस्तान्तरणको बाटो बनेको छ ।यसलाई सम्हालेर अगाडि बढ्नुपर्छ ।” –––

Powered By  Ors

प्रकाशित : ५ चैत्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६