अर्थ-वाणिज्य

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट : बीमा गर्न माग



चन्द्रपुर (रौतहट), १० चैत

गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५० भन्दा बढी इँटा उद्योगका पकाउनका इँटा तयार पारिएका थिए । इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष रामविनोद साहका अनुसार वर्षाको कारण जिल्लामा सञ्चालित ५० इँटा उद्योगमा क्षति भएको छ । ती उद्योगमा करिब एक करोड ५० लाखभन्दा बढी काँचो इँटा नष्ट भएको छ । प्रत्येक काँचो इँटाको लागत औसतमा तीन रुपैयाँभन्दा बढी पर्ने भएकाले कुल नोक्सानीको रकम करिब साढे चार करोड रुपैयाँबराबर भएको अनुमान छ । जिल्लाको बिके इँटा उद्योग, वीर इँटा उद्योग, पूजा इँटा उद्योग, एमबिआई इँटा उद्योग, सोना इँटा उद्योग, रामजानकी इँटा उद्योगलगायत ५० उद्योगमा बेमौसमी वर्षाले नोक्सानी भएको छ । गरुडा–५ महम्मदपुरस्थित रहेको एसपिएल इँटा उद्योगका सञ्चालकसमेत रहनुभएका साहले उद्योगले निर्माण गरेका काँचो इँटा खुला स्थानमा सुकाउने क्रममा बेमौसमी वर्षाले नष्ट गरेको गुनासो गर्नुभयो । काचो इँटाको समेत बीमाको व्यवस्था गरिदिन इँटा व्यवसायी महासङ्घका केन्द्रीय सदस्य मोहन साहले माग गर्नुभएको छ । गुजरा–७ स्थित रामजानकी इँटा उद्योगका सञ्चालक रहनुभएका उहाँले बेमौसमी वर्षाको कारण इँटा व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो । सरकारले वा सम्बन्धित निकायले काँचो इँटाको बीमा प्रणाली अवलम्बन गरिदिने हो भने यस्ता प्राकृतिक प्रकोपबाट इँटा व्यवसायीले राहत पाउने उहाँको भनाइ छ । राधाकृष्णा इँटा उद्योगका सञ्चालक प्रेमशङ्कर यादवले आफ्नो उद्योगबाट लाखौँ मूल्यबराबरको काँचो इँटा नष्ट भएको गुनासो गर्नुभयो । एउटा काँचो इँटा उत्पादन गर्न माटो, पानी, मजदुरीलगायतको लागत जोड्दा औसतमा तीन रुपैयाँभन्दा बढी खर्च हुने उहाँ बताउनुहुन्छ । जिल्लामा १६० इँटा उद्योग दर्ता भएको भएता पनि हाल ५७ उद्योगमात्र सञ्चालनमा छन् । पछिल्लो समय इँटा उद्योग बन्द गर्ने क्रम बढेको छ । काचो इँटाको बीमा नहँुदा गत वर्ष पनि बमौसमी वर्षाले इँटा उद्योगमा क्षति पुर्याएको थियो ।

प्रकाशित : १० चैत्र २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६