बुटवल, १ वैशाख
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले निर्माण सामग्रीको आपूर्ति प्रभावित हुँदा बुटवल–गोरुसिङ्गे राजमार्ग खण्डको सडक विस्तार कार्य सुस्त बनेको छ। निर्माणमा ढिलाइ हुँदा दैनिक यात्रुहरू प्रत्यक्ष रूपमा मारमा परेका छन्।
सडक स्तरोन्नतिका लागि आवश्यक नदीजन्य पदार्थको अभाव भइरहेका बेला कालोपत्रे गर्न प्रयोग हुने बिटुमिन समेत आयात हुन छाडेपछि निर्माण कार्य थप जटिल बनेको निर्माण पक्षले जनाएको छ।
निर्माण कम्पनीका अनुसार सडक विस्तार हुने क्षेत्रमा ठूलो परिमाणमा माटो फिलिङ आवश्यक पर्छ। तर कपिलवस्तुको कोठी नदीदेखि बुटवलको पाखापानीसम्म पर्ने लट–१ खण्डमा माटो, भस्कट र नदीजन्य सामग्रीको अभावका कारण फिलिङको काम ठप्पजस्तै भएको छ।
आयोजनाले आवश्यक प्रक्रियाहरू पूरा गरिसके पनि केही स्थानीय तहले वन क्षेत्र जोडिने भन्दै सामग्री निकासीमा अवरोध गरेपछि समस्या उत्पन्न भएको निर्माण कम्पनीको गुनासो छ। राजस्व बुझाएर अनुमति लिइएका स्थानबाट समेत निकासी रोकिँदा दैनिक सयौँ कामदार र उपकरण निष्क्रिय बनेको कन्ट्र्याक्ट म्यानेजर गौरीशङ्कर महतोले बताए।
सडक विभागअन्तर्गत सञ्चालनमा रहेको यो आयोजना विश्व बैंक को करिब ३५ अर्ब रुपैयाँ सहयोगमा पूर्व–पश्चिम राजमार्गलाई एसियाली मापदण्डअनुसार विस्तार गर्ने लक्ष्यसहित अघि बढाइएको हो। आयोजनाको शिलान्यास केपी शर्मा ओली र विष्णुप्रसाद पौडेल ले गत वर्ष गरेका थिए।
आयोजनाको तथ्याङ्कअनुसार लट–१ का लागि करिब ८ लाख ७९ हजार घनमिटर माटो तथा भस्कट र ८ लाख ७१ हजार घनमिटर नदीजन्य सामग्री आवश्यक छ। तर हालसम्म माटो तथा भस्कटतर्फ ६९ हजार घनमिटर मात्र उपलब्ध भएको छ भने नदीजन्य सामग्री करिब १ लाख २३ हजार घनमिटर मात्रै जुटाइएको छ।
निर्माण कम्पनीका अनुसार अझै माटो तथा भस्कटतर्फ करिब ८ लाख घनमिटर र नदीजन्य पदार्थतर्फ झन्डै ७ लाख ५० हजार घनमिटर अभाव रहेको छ।
निर्माण कम्पनीले बुटवल उपमहानगरपालिका ले नदीजन्य पदार्थ निकासीमा ढिलाइ र बेवास्ता गरेको आरोप लगाएको छ। “विदेशबाट ल्याउनुपर्ने सामग्रीको काम नरोकिए पनि स्वदेशमै पाइने माटो र नदीजन्य पदार्थको अभावले काम रोकिनु विडम्बना हो,” महतोले भने।
आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार लट–१ को करिब २५ किलोमिटर खण्डका लागि झन्डै २० लाख घनमिटर माटो आवश्यक पर्नेमा हालसम्म अत्यन्त न्यून मात्र उपलब्ध भएको छ। “माटोको अभाव सबैभन्दा ठूलो समस्या बनेको छ। पुल, कल्भर्ट र नालीबाहेकका काम लगभग ठप्प छन्,” उनले भनिन्।
उनका अनुसार लट–२ (कोठी नदीदेखि पश्चिम बेल नदीसम्म) क्षेत्रमा भने तुलनात्मक रूपमा समस्या कम छ र आवश्यक सामग्रीको आधाभन्दा बढी सुनिश्चित भइसकेको छ।
आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब २३ प्रतिशत मात्र काम सकिएको छ। असार मसान्तसम्म ५० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य लिइए पनि सामग्री अभावकै कारण प्रगति प्रभावित भएको आयोजना प्रमुखले बताइन्।
स्थानीय तहहरूसँग सामग्री उपलब्धताका लागि सम्झौता भए पनि कार्यान्वयनमा ढिलाइ हुँदा सडक निर्माणको गति सुस्त बनेको छ। समयमै समस्या समाधान नभए निर्धारित समयमै आयोजना सम्पन्न हुन कठिन देखिएको छ।








प्रतिक्रिया