अर्थ-वाणिज्य

कृषि सुदृढीकरणले आयात घटाउने सम्भावना, कपिलवस्तुलाई ‘कृषि राजधानी’ बनाउने प्रस्ताव



कपिलवस्तु, २ वैशाख

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री विष्णु प्रसाद पंथीले कृषि क्षेत्रको समग्र विकास मार्फत देशबाट ठूलो परिमाणमा बाहिरिने रकम नियन्त्रण गर्न सकिने बताएका छन्। उनले सिँचाइ, रासायनिक मल र उच्च गुणस्तरका बीउको सहज तथा व्यवस्थित आपूर्ति भएमा रोजगारी सिर्जना, आम्दानी वृद्धि र स्वस्थ उत्पादन सम्भव हुने धारणा व्यक्त गरे।

कृषि विकासका लागि नीतिगत कमजोरी तत्काल सच्याउनुपर्ने आवश्यकता औंल्याउँदै पंथीले जग्गाको हदबन्दीका कारण व्यावसायिक कृषिमा देखिएको अवरोध हटाउनुपर्ने बताए। यसका लागि जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उनले उल्लेख गरे।
उनले नीतिगत सुधार, सिँचाइ पूर्वाधार विस्तार र अनुदानको लक्षित प्रयोग सुनिश्चित गर्न सके कृषि क्षेत्रले आयात प्रतिस्थापन मार्फत अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए। कपिलवस्तु जस्ता उर्वर क्षेत्रलाई ‘कृषि हब’का रूपमा विकास गर्न सके प्रदेशको खाद्य सुरक्षा र आर्थिक स्थायित्वमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा विशेषाधिकार समितिका सभापति गिरधारीलाल न्यौपानेले दुग्ध उत्पादन प्रवद्र्धनका लागि सरकारी अनुदान वृद्धि आवश्यक रहेको बताए।

जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले कृषि क्षेत्रमा विनियोजित बजेट न्यून रहेकोप्रति असन्तोष व्यक्त गर्दै बाली बीमालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कपिलवस्तुलाई ‘कृषि राजधानी’का रूपमा विकास गर्न सकिने सम्भावना औंल्याउँदै यहाँको उत्पादनले लुम्बिनी प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।
कार्यक्रममा सहभागीहरूले कृषि क्षेत्र अझै नीतिगत अस्पष्टता, स्रोत अभाव र कमजोर समन्वयका कारण अपेक्षित गति लिन नसकेको धारणा राखे। सिँचाइ, मल र बीउ व्यवस्थापन जस्ता आधारभूत पक्षमा समस्या रहँदा उत्पादन लागत बढेको र प्रतिस्पर्धात्मक क्षमता कमजोर बनेको उनीहरूको भनाइ थियो।
निर्वाचन क्षेत्र लक्षित योजना पहिचान कार्यक्रममा कृषि ज्ञान केन्द्र तौलिहवा, कपिलवस्तुका प्रमुख घनश्याम चौधरी र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, नवलपरासीका मुख्य पशु चिकित्सक भरत काफ्लेले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा कृषि प्रसार निर्देशक सागर ढकालले लगायतले कृषि सुधारका विविध पक्षमा धारणा राखेका थिए।
जनप्रतिनिधि तथा सरोकारवाला शिवलाल घिमिरे , सुकई थारु लगायतको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम कृषि ज्ञान केन्द्र तौलिहवा र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तौलिहवाको आयोजनामा बाणगंगामा सम्पन्न भएको कृषि शाखा प्रमुख लेसबहादुर केसीले जानकारी दिए।

प्रकाशित : २ बैशाख २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६