ब्रेकिंग न्युज

विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णयप्रति नेता खड्काको आपत्ति



काठमाडौँ, ९ वैशाख

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विद्यार्थी सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । उहाँले आज विज्ञप्ति जारी गरी विद्यार्थी सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णय लोकतान्त्रिक मूल्य–मान्यता विपरीत र अधिनायकवादी प्रवृत्ति रहेको बताउनुभयो । नेता खड्काले नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा विद्यार्थीको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभयो । निर्दलीय पञ्चायती व्यवस्थाको समयमा राजनीतिक दलमाथि प्रतिबन्ध हुँदा विद्यार्थी सङ्गठनहरूले लोकतन्त्रको पक्षमा जनचेतना फैलाएको उहाँको भनाइ छ । नेता खड्काले विसं २०३६/३७ सालको विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन तथा २०६२/६३ को ऐतिहासिक आन्दोलनमा विद्यार्थीहरूको सक्रिय सहभागिताले वर्तमान राजनीतिक व्यवस्था स्थापना सम्भव भएको बताउनुभयो । वर्तमान सरकारले लोकतान्त्रिक स्वतन्त्रताको उपयोगबाट उदाएका युवा नेतृत्व बालेन शाहलाई स्थापित गर्ने वातावरण बनेको भए पनि सोही सरकारले विद्यार्थी संगठनमाथि प्रहार गर्नु विरोधाभाषपूर्ण रहेको नेता खड्काको भनाइ छ । विद्यार्थी सङ्गठनलाई केवल राजनीतिक आस्थासँग जोडिएका संस्था मात्र नभई शैक्षिक क्षेत्रका विकृति र विसङ्गति विरुद्ध आवाज उठाउने वैधानिक निकायको रूपमा वर्णन गर्नुभएको छ । नेता खड्काले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन र विद्यार्थी सङगठनहरूको गरिमा कायम राख्न आग्रह गर्नुभयो । अन्यथा, लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन सक्ने उहाँले चेतावनी दिनुभयो । –––

प्रकाशित : ९ बैशाख २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६