गण्डकी

ढुङ्गा ढुङ्गामा कोरिँदै मूर्तिकला



मुस्ताङ, ९ वैशाखः

घरपझोङ गाउँपालिकाले पन्ध्र दिने घरपझोङ मूर्तिकला कार्यशाला शुभारम्भ गरेको छ । घरपझोङ गाउँपालिकाको आयोजना तथा ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहकार्यमा मूर्तिकला कार्यशाला आयोजना गरिएको हो । मुस्ताङ जिल्लाको समग्र धार्मिक तथा सांस्कृतिक सम्पदा एवं यहाँको मौलिकता, रहनसहन, जैविक विविधतालाई झल्काउने गरी मूर्तिकलामार्फतबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मूर्तिकला कार्यशाला गरिएको हो । कालिगण्डकी नदीमा पाईने विशाल ढुङ्गालाई बाहिर निकालेर मूर्तिकारहरुले यहाँको मौलिकता झल्किने सृजनालाई मूर्तिकलाको स्वरुपमा बदल्ने भएका छन् । कालगण्डकी नदीमा पाइने ढुङ्गालाई छनौट गरी मूर्तिकला कुद्न दर्जनौँ ढुङ्गामा जोमसोममा एकक्रित गरी सङ्कलन गरिएको छ । सीमित स्रोत मात्रै उपलब्ध भएकाले अपेक्षा गरे अनुरुपका ढुङ्गाहरु सङ्कलन गर्न सकिएको छैन । घरपझोङ गाउँपालिकाले सङ्कलन गरी राखेका कालिगण्डकी विशाल ढुङ्गामा विभिन्न प्रकारका मूर्तिहरुको आकृति कोरिने योजना रहेको छ । घरपझोङ मूर्तिकला कार्यशालाका लागि ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा २१ मूर्तिकार र एक दर्जन बढी सहयोगी मूर्तिकार मुस्ताङ आई पुगेर काम सुरु गरिसकेको ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले जानकारी दिनुभयो । कालिगण्डकी नदीका ढुङ्गाहरुमा यहाँको जीवन्त मौलिक कलासंस्कृतिलाई मूर्तिकलामार्फत उजागर गरिने प्रमुख महतोले बताउनुभयो । यहाँको मौलिक पहिचान र कलाकारको सृजनालाई मूर्तिकलाको माध्यमबाट मूर्त रुप दिइने छ । धार्मिक तथा पर्यटकीय जिल्लाको रुपमा रहेको मुस्ताङलाई यहाँको पर्यटन विकासमा योगदान पुग्ने गरी १५ दिने कार्यशालाले ठूलो टेवा पु¥याउन सक्ने प्रमुख महतोको भनाइ छ । घरपझोङ मूर्तिकला कार्यशाला २१ वैशाखसम्म चल्ने छ । ढुङ्गामा कुदिने मूर्तिकलाबाट यहाँको भगवान विष्णुको स्वरुप शालिग्राम, भगवान नारायण,बुद्ध र गुरु पद्मसम्भव अर्थात गुरु रिन्पोर्छे, घरपझोङको पहिचान घरपझोङ किल्लाको आकृति कोरिने बताइएको छ । यसैगरी कालिगण्डकी नदीका ढुङ्गाहरुमा यहाँको धर्मसस्कृति, रहनसहन, हिउँ चितुवा, याकचौरीलगायतका यहाँको पर्यावरणको सम्पूर्ण प्रतिनिधित्व झल्काउने गरी मूर्तिकारहरुले आफ्नो सृजना पस्किने प्रमुख महतोले उल्लेख गर्नुभयो । यहाँको मूर्तिकला कार्यशालामा कार्य अवधिभर २१ ठूला आकारका ढुङ्गामा मूर्तिकला सृजना प्रस्तुत हुनेछन् । यसका अलावा तोकिएको अवधिभन्दा अघि नै ढुङ्गामा मूर्तिकलाको काम सकिएमा थप अरु ढुङ्गाहरुमा क्रमशः मूर्तिकला कुद्ने लक्ष्य राखिएको छ । घरपझोङ मूर्तिकला कार्यशालाले मुस्ताङको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पु¥याउने गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो । मुस्ताङको कालिगण्डकी नदीमा पाइने सबै ढुङ्गाहरु स्वतः शालिग्राम रहेको उल्लेख गर्दै अध्यक्ष लालचनले पर्यटकहरुको घुमफिर गर्ने बसाइ लम्याउने उद्देश्यले मूर्तिकला कार्यशाला चलाइएको बताउनुभयो । मुस्ताङमा अधिकांश धार्मिक पर्यटक हिन्दू धर्मालम्बीको रहेकाले यहाँको पवित्र ढुङ्गा (शीला) मा हिन्दू तथा बौद्ध धर्मको समान अस्तित्व रहेने गरी मूर्तिकारले आफ्ना सृजना कोर्ने कार्यक्रम रहेको छ । कोरला नाका, उपल्लो मुस्ताङ र मुक्तिनाथ दर्शन गरी फर्किने पर्यटकहरु सिधैँ गन्तव्यतर्फ प्रस्थान गर्ने भएकाले मूर्तिकलाको प्रस्तुतीले पर्यटकहरुको बसाइ लम्याउन सहयोग पुग्ने विश्वास गरिएको छ । घरभफोङ गाउँपालिका कार्यालय नजिकैको खुला प्राङ्गणमा मूर्तिकला सुरु गरिएको छ । यसका लागि घरपझोङ गाउँपालिकाले ढुङ्गा र विद्युत् व्यवस्थापन मिलाएको छ । काठमाडाँैकी मूर्तिकार अनमारी तामाङले मुस्ताङको उच्च उचाइको स्थानमा पहिलो पटक मूर्तिकला प्रस्तुत गर्न आइपुगेको जानकारी दिनुभयो । तराई र पहाडका क्षेत्रमा मूर्तिकला कोर्ने अनुभवभन्दा यहाँको मूर्तिकला अनुभव केही फरक रहेको बताउनुभयो । यहाँको हावाहुरी र चिसोका कारण मूर्तिकला कुद्न केही असहज हुने मूर्तिकार तामाङले उल्लेख गर्नुभयो । घरपझोङ मूर्तिकला कार्यशालामा कोरिएका ढुङ्गालाई जोमसोम बजारको कालीगण्डकी नदीको दायाँबायाँ किनारामा पार्क निर्माण गरी प्रतिस्थापन गर्ने जनाइएको छ । सोमबारदेखि सुरु गरिएको मूर्तिकला कार्यशालामा अहिले मूर्तिकारहरुले यहाँको ढुङ्गाहरुको अध्ययन गर्ने र मूर्तिकलाका लागि सेफ तयार गर्ने लगायतका काम गरेको बताइएको छ । ढुङ्गामा कोरिएका मूर्तिकलाबाट समग्र मुस्ताङ जिल्लाको पहिचानलाई झल्काउने कार्यशालाको मूल उद्देश्य रहेको छ । –––

प्रकाशित : ९ बैशाख २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६