जीवनशैली

अध्यक्षसँग जापानी संसदीय टोलीको भेटवार्ता



काठमाडौँ, ११ वैशाख

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको जापानी संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । नेपाल भ्रमणमा रहेको हाउस अफ काउन्सिलर जापानका सदस्य तथा जापान–नेपाल संसदीयमैत्री लिगका अध्यक्ष योसुके ट्सुरुहो नेतृत्वको टोलीले आज सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष दाहालसँग भेटवार्ता गरेको हो । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित, संसदीय सहकार्य र सहयोगका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रियसभा अध्यक्ष दाहालले जापान नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको चर्चा गर्दै नेपाललाई विभिन्न क्षेत्रमा जापानले सहयोग गर्दै आएको बताउनुभयो । नेपाल–जापान कूटनीतिक सम्बन्धका ७० वर्ष भइसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले विभिन्न कूटनीतिक तथा संसदीय भ्रमणहरूले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन भूमिका खेल्ने बताउनुभयो । नेपालको सङ्घीय संसद्ले छिट्टै नेपाल–जापान संसदीयमैत्री समूह गठन गर्ने जानकारी गराउँदै अध्यक्ष दाहालले संसदीय अभ्यास र अनुभव आदानप्रदानका लागि मैत्री समूहले काम गर्ने बताउनुभयो । गौतम बुद्ध र लुम्बिनीले दुई देशबीचको सामाजिक सांस्कृतिक सम्बन्ध विस्तारमा विशिष्ट भूमिका खेलेको चर्चा गर्दै अध्यक्ष दाहालले लुम्बिनी–जापान सिधा हवाई सेवा सुरु गर्नका लागि जापान सरकारले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली विद्यार्थी र कामदारहरूका लागि जापान आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै दाहालले यसले दुई देशबीच जनस्तरको सम्बन्ध सुदृढ बनाउन योगदान दिएको बताउनुभयो । सो अवसरमा जापान–नेपाल संसदीयमैत्री लिगका अध्यक्ष योसुकेले नेपाल भ्रमणमा आउन पाउँदा निकै खुसी लागेको बताउँदै संसदीय सहकार्यले दुई देशबीचको सम्बन्ध थप बलियो हुने बताउनुभयो । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको हालै जापानमा भएको भ्रमणको चर्चा गर्दै उहाँले उक्त भ्रमणले जापान–नेपाल सम्बन्ध थप मजबुत बनाउन विशेष भूमिका खेलेको बताउनुभयो । अहिले जापान–काठमाडौँ नियमित हवाई उडान भइरहेको उल्लेख गर्दै उहाँले लुम्बिनी–जापान हवाई उडानबारे नेपालस्थित जापानी दूतावासमार्फत छलफल गर्ने बताउनुभयो । भेटमा नेपालस्थित जापानी राजदूत मयडा तोरुको पनि सहभागिता रहेको थियो । —

प्रकाशित : ११ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६