काठमाडौँ, १२ वैशाख
स्थानीय जातका गाईको गहुँत, गोबर, दूध, दही र घ्यूको प्रयोग गरी बनाइने पञ्चगव्य चिकित्सा पद्धतिबाट क्यान्सरजस्ता रोग निको भएकाले यसलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिइएको छ । गौ संरक्षण अभियानले आजदेखि आयोजना गरेको ‘पञ्चगव्यको महत्व एवं गौ विज्ञान कथा’ विषयक दुईदिने कार्यक्रमका वक्ताले देशभर स्थानीय जातका गाई पाल्न प्रोत्साहन गरेर पञ्चगव्यबाट उपचार गर्ने पद्धतिको विकास गरिनुपर्नेमा दिनुभएको हो । भारतको काञ्चीपुरम् तामिलनाडुस्थित सेवारत्न पञ्चगव्य विद्यापीठका पारम्परिक वैद्यरत्न गव्यसिद्धाचार्य गुरुकुलपति निरञ्जनकुमार वर्माले २४ वर्षदेखि यस विषयमा अभ्यास गरिरहँदा सबै रोगको उपचार पञ्चगव्य पद्धतिबाट हुने प्रमाणित भएको बताउनुभयो । स्थानीय जातका गौमाताबाट निरोग नेपाल बनाउन सकिने उल्लेख गर्दै उहाँले गाई शाश्वत सत्य र धरतीकै माता भएकाले यसको संरक्षण गरी फाइदा लिनुपर्नेमा जोड दिनुभयो । वैदिक दर्शनअनुसारका ८४ लाख योनीमा गाईमात्र अवतरित प्राणी भएको बताउँदै उहाँले माटोको शुद्धीकरणमा पनि स्थानीय जातका गाईको प्रयोगले धेरै राम्रो हुने प्रमाणित भएको बताउनुभयो । मानिसले पृथ्वी, जल, तेज, वायु र आकाश गरी पाँचवटै तत्वलाई प्रदूषित गर्ने गरेको सुनाउँदै गुरुकुलपति वर्माले यसको शुद्धीकरण पनि पञ्चगव्यबाट हुने बताउनुभयो । नेपाल र भारतका मूल प्रजातिका गाईले कम दुध दिने गरेकाले पनि तिनलाई पाल्नेक्रम घट्दै गएको उल्लेख गर्नुहुँदै उहाँले विभिन्न विधिको प्रयोगबाट तीनगुणासम्म दूध बढाउन सकिएको अनुभव सुनाउनुभयो । त्यो प्रविधिलाई नेपालमा पनि लागू गर्न सकिने गुरुकुलपति वर्माको भनाइ थियो । भारत सरकारका पूर्वसचिव एवं भारतको काञ्चीपुरम् तामिलनाडुस्थित सेवारत्न पञ्चगव्य विद्यापीठका उपगुरु कुलपति डा कमल टावरीले स्थानीय जातका गाईको पञ्चगव्यका माध्यमबाट रोजगारी सृजना गर्न सकिने बताउनुभयो । गाईको गहुँतलगायत गोरसबाट ठूलो व्यवसाय गर्न सकिने भएकाले युवालाई यसतर्फ आकर्षित गरिनुपर्ने उहाँले बताउनुभयो । यसमा जडीबुटी पनि जोडेर काम गर्न सकिने भनाइ पनि उहाँको थियो । बाबा योगीराजले स्थानीय जातका गाई विज्ञानका साथै कृषिको मुख्य आधार भएकाले यसको संरक्षणमा सुरु गरिएको अभियानलाई देशव्यापी बनाउन सुझाव दिनुभयो । आयुर्वेद जडीबुटीबाट घरमै औषधि बनाउने पद्धति भए पनि त्यसमा अहिले विकृति आउन सुरु गरेको उहाँले सुनाउनुभयो । आफूले सेवाभावले आयुर्वेदको निःशुल्क उपचार गर्ने गरेको पनि बाबा योगीराजले कार्यक्रममा जानकारी दिनुभयो । कार्यक्रममा महेश मोदीेले गोडामा भएको समस्या पञ्चगव्य उपचार पद्धतिबाट नै सम्भव भएको जानकारी दिनुभयो । पुरानो सिनामङ्गलका स्थानीयवासी अमित ढुङ्गानाले श्रीमतीलाई क्यान्सर भएपछि आधुनिक चिकित्सा पद्धतिबाट ठीक नभई स्थानीय जातका गाईको गहुँत सेवनबाट निको भएको जानकारी दिनुभयो । अमेरिका रहेका आफ्ना साथीका बुबालाई क्यान्सर भएपछि त्यहाँको उपचार पद्धतिबाट पनि ठीक नभएर नेपाल आई गहुँतबाट अहिले निको हुँदै गएको जानकारी पनि उहाँले दिनुभयो । आधुनिक पद्धतिको चिकित्सकसमेत रहनुभएका गुरु गोरखनाथ फाउन्डेसनका अध्यक्ष डा सुवेन्दु गुप्ताले पञ्चगव्य उपचार पद्धतिलाई एकीकृत स्वास्थ्य सेवामा अघि बढाउनुपर्ने बताउनुभयो । आफूले ३० वर्षदेखि आधुनिक चिकित्सा पद्धतिमा काम गर्दै आए पनि पञ्चगव्य उपचार पद्धतिलाई वैकल्पिक उपचारको सूचीमा समावेश गरिनुपर्ने विचार उहाँको थियो । वरिष्ठ पत्रकार प्रेम कैदीले रक्सी र चुरोट खान प्रचार गर्नु नपर्ने तर अमृतका रूपमा रहेका पञ्चगव्यका लागि प्रचार गर्नुपर्ने अवस्था रहनु दुःखद् भएको बताउनुभयो । स्वर्गका रूपमा रहेका नेपालका गाउँमा पञ्चगव्य उपचार पद्धति लोप होला जस्तो भएकाले त्यसको संरक्षण गरिनुपर्नेमा पनि उहाँको जोड थियो । नेपाली भान्सा सुधार अभियानकी अध्यक्ष कविता दाहालले नेपाली भान्साभित्र आयुर्वेद रहने गरी गरिएको व्यवस्था भङ्ग हुन थालेपछि नेपाली विभिन्न रोगले पीडित हुन थालेको बताउनुभयो । यसका लागि आमा, सासूआमाले सिकाएको नेपाली भान्सा परम्परालाई पुनःस्थापित गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाली भान्सामा पञ्चगव्य पहिलेदेखि नै मुख्य अङ्गका रूपामा रहँदै आएको पनि अध्यक्ष दाहालले सुनाउनुभयो । आयोजक समिति गौ संरक्षण अभियानका अध्यक्ष स्मृति राणा मल्लले आइतबारसम्म आयोजना हुने कार्यक्रमले नेपालमा स्थानीय जातका गाई संरक्षणका जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो । अभियानका गव्यसिद्धाचार्य प्रमुख प्रेम आर्यले गव्य चिकित्साका माध्यमबाट शरीरका समस्या समाधान हुने बताउनुभयो । स्थानीय जातका गाई रक्षाका लागि काम गरेर पञ्चगव्य चिकित्सा पद्धतिलाई नेपालमा स्थापित गर्नु अभियानको मुख्य उद्देश्य रहेको जानकारी पनि उहाँले दिनुभयो । —
Powered By Orson Infotech








प्रतिक्रिया