कपिलवस्तु, १३ बैशाख
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को समिक्षा मार्फत प्रभावकारी सेवा प्रवाह र संस्थागत सुदृढीकरणका लागि बहुआयामिक रणनीति अघि सारेको तथ्यहरु सार्वजनिक गरेकोछ। नगरकार्यपालिकाको कार्यालय, बुडढीले सार्वजनिक गरेको निष्कर्ष अनुसार प्रशासनिक दक्षता अभिवृद्धि, प्रविधिको प्रयोग विस्तार र समावेशी पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।
नगरपालिकाले कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्न समयानुकूल तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। बदलिँदो प्रशासनिक वातावरण र सेवा प्रवाहको अपेक्षालाई मध्यनजर गर्दै दक्ष जनशक्ति निर्माणलाई प्रमुख आधारका रूपमा लिइएको छ।
त्यसैगरी, देशका उत्कृष्ट पालिकाहरूका असल अभ्यासहरू सिक्न स्थलगत अध्ययन भ्रमणलाई समेत जोड दिइएको छ। यसले स्थानीय तहमा सफल अभ्यासको अनुकरण गरी सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
नगरपालिकाले कर्मचारीहरूमा कार्यालय प्रति सकारात्मक सोच, अनुशासन र जिम्मेवारी बोध विकास गर्न क्षमता विकासका कार्यक्रमहरूलाई निरन्तरता दिने नीति लिएको छ। यसबाट संस्थागत संस्कृतिमा सुधार भई सेवाग्राहीमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।
प्रविधिमैत्री प्रशासनतर्फ उन्मुख हुँदै नगरपालिकाले सबै शाखा, उपशाखा तथा वडा कार्यालयबाट सम्पादन हुने कार्यलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ। यसले सेवा प्रवाहलाई छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास लिइएको छ।
यस्तै, दीर्घकालीन दृष्टिकोण अनुसार बालमैत्री, महिलामैत्री तथा अपाङ्गमैत्री एकीकृत प्रशासनिक भवन निर्माणका लागि पहल गर्ने योजना पनि अघि सारिएको छ। समावेशी पूर्वाधार विकासले सबै नागरिकलाई समान पहुँच सुनिश्चित गर्ने उद्देश्य राखिएको छ।
समग्रमा, बुद्धभूमि नगरपालिकाले प्रस्तुत गरेका यी रणनीतिहरूले सुशासन, पारदर्शिता र सेवाको गुणस्तर अभिवृद्धिमा टेवा पु¥याउने देखिन्छ। योजनाबद्ध कार्यान्वयन भएमा नगरपालिकाले नमूना स्थानीय तहको रूपमा आफूलाई स्थापित गर्न सक्ने विश्वास गरिएको छ। यो समिक्षा प्रतिवेदनले आ.व. २०८२÷०८३ को कार्यान्वयन र आगामी आ.व. २०८३÷०८४ का निम्ति बन्ने नीति, कार्यक्रम र बजेट निर्माणमा महत्वपूर्ण भूमिका रहने विश्लेषण गरिएको छ ।








प्रतिक्रिया