लुम्बिनी

बाँकेका १२ सामुदायिक वनमा डढेलो



नेपालगञ्ज, १३ वैशाख

बाँकेका दुई चक्ला वनसहित विभिन्न सामुदायिक वनमा डढेलो सुरु भएको छ । वन डढेलोका कारण वन्यजन्तुको बासस्थान सङ्कटमा पर्न थालेको जिल्ला वन डिभिजन कार्यालयले जनाएको छ । एक सातायतादेखि सुरु भएको वन डढेलोका कारण करिब चार हजार हेक्टर क्षेत्रफल प्रभावित भएको जिल्लास्थित डिभिजन वन कार्यालयका योजना अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार शम्शेरगञ्ज माथेमा चक्ला वन, भुवरभवानी चक्ला वन, झिँझरी महिला सामुदायिक वन, राप्ती पीडित गुलरी सामुदायिक वनलगायत १२ वटा सामुदायिक वनमा डढेलो लागेको छ । डढेलो निभाउने प्रयास जारी रहेको जनाउँदै उहाँले भित्रभित्र वनमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको सुवेदीले उल्लेख गर्नुभयो । जनशक्ति र स्रोत कम हुँदा समयमा डढेलो नियन्त्रण हुन नसकेको भन्दै उहाँले सोही कारणले क्षति भइरहेको बताउनुभयो । उहाँका अनुसार जिल्लामा वन डढेलो नियन्त्रणमा लागि १४ जनाको डढेलो नियन्त्रण दस्ता निर्माण गरिएको छ । अहिले रहेको २००० लिटर क्षमताको ट्याक्टरले राजमार्ग आसपासका क्षेत्रमा मात्रै वन डढेलो निभाउन सकिएको उहाँले जानकारी दिनुभयो । डढेलो नियन्त्रणका लागि वनका भित्री भागसम्म जान सक्ने दमकल आवश्यक भएको उल्लेख गर्दै वन कार्यालयका योजना अधिकृत सुवेदीले बढ्दो खडेरीले भित्री क्षेत्रमा डढेलो झन बढेको उल्लेख गर्नुभयो । “केही दिनभित्र पानी परेन भने वन डढेलो झनै बढ्ने खतरा छ”, उहाँले भन्नुभयो । जिल्लामा ५० हजार हेक्टर वन क्षेत्र रहेको वन कार्यालयका योजना अधिकृत सुवेदीले जानकारी दिनुभयो । वन डढेलो नियन्त्रण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आइएको उल्लेख गर्दै उहाँले केही गलत व्यक्ति र आचरणका कारण वनमा डढेलो लागेको बताउनुभयो । यसैबीच सिक्टा नहरमा फसेको चित्तल मारेर खाएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूलाई वन कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको वन कार्यालयका योजना अधिकृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अनुसन्धान भइरहेकाले निजहरूको नाम, थर गोप्य राखिएको छ । त्यस्तै स्थानीयले नहरमा फसेका चार वटा चित्तलको आज उद्धार गरेका छन् । बढ्दो खडेरीका कारण नहरमा पानी खान पुगेका चित्तल पानी खाँदाखाँदै नहरमा फसेका थिए । हरलाफाँटा सामुदायिक वनका उपभोक्ताले ती चित्तलको उद्धार गरी कार्यालयमा बुझाएका डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित : १३ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६